बेलौरीमा एमाले र कांग्रेसद्वारा संयुक्त रूपमा संविधान दिवसमा दीप प्रज्वलन

बेलौरी, ३ असोज। कञ्चनपुरको बेलौरीमा संविधान दिवसको अवसरमा दुई राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त रूपमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्।

बेलौरी नगर कमिटीको संयुक्त आयोजनामा शुक्रबार साँझ आयोजित कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य कमला बोहराले नेपाली जनताको लामो संघर्ष र बलिदानीको प्रतिफल स्वरूप यो संविधान प्राप्त भएको बताउनुभयो। उहाँले संविधानले मुलुकलाई स्थायित्व र समृद्धिको स्पष्ट बाटो देखाएको उल्लेख गर्दै यसको कार्यान्वयन र रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह बिष्टले संविधानलाई जीवन्त र गतिशील बनाउन सबै राजनीतिक दल, नागरिक समाज र विशेषगरी युवा पुस्ताको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो। दलहरूबीचको सहकार्यले मात्र देशले अपेक्षित प्रगति हासिल गर्न सक्ने विचार उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव पल्लबराज भट्ट, नगर अध्यक्ष नमराज शाही तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, नगरसभापति पेपुराम चौधरी लगायत दुवै पार्टीका महत्त्वपूर्ण नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ