बेलौरी नगरकार्यपालिकाको बैठक: सर्वपक्षीय वार्ता टोलीद्वारा जेन-जी ले उठाएका विषयको समाधान खोजिने

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

जेन-जी र समर्थकहरूद्वारा चौतर्फी दबाब बढेपछि आज बिहान बेलौरी नगर कार्यपालिकाको बैठक बसेको थियो।

सो बैठकले सर्वपक्षीय वार्ता टोली गठन गरी स्थानीय जेन-जी तथा समर्थकहरूले उठाएका विषयवस्तुको समाधान खोजिने निर्णय गरेको छ।

 

बैठकको आधिकारिक माइन्युट अनुसार नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य ९ जना, प्रत्येक दलबाट एकजना रहनेगरी दलीय प्रतिनिधि ५ जना र बेलौरी जेन-जी तथा समर्थकहरूबाट ७ जना रहने गरी सर्वपक्ष वार्ता टोली गठन गर्ने र सर्वपक्षीय वार्ता संवादद्वारा जेन-जी र समर्थकहरूले बुझाएको ध्यानाकर्षण पत्र बमोजिम समस्याको समाधान खोजिने निर्णय गरिएको छ।

यसका अतिरिक्त बैठकले जेन-जी आन्दोलनमा शहीद भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने र देशका विभिन्न स्थानमा भएका आन्दोलनले क्षति पुगेको अवस्थामा बेलौरीमा भने शान्तिपूर्ण आन्दोलन गरिएकाले स्थानीय जेन-जी र समर्थकहरूमा धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ।

 

सँगै असोज ५ गते नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार भौतिक पूर्वाधार पुनर्निर्माण कोष गठन गर्ने भएकाले सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूबाट एक दिनको तलब बराबरको रकम सोकोसमा जम्मा गर्ने निर्णय समेत गरेको छ भने सो कोषमा नगरपालिकाको आन्तरिक राजस्व स्रोतबाट रु २ लाख जम्मा गर्ने निर्णय समेत भएको छ।

त्यस्तै हिजो अर्थात् असोज ८ गते बेलौरी नगरपालिकाका कर्मचारीहरूले जेन-जी र समर्थकहरूबाट काम गर्ने वातावरण नदिएको भन्दै सेवा प्रवाह बन्द गर्ने विज्ञप्ति जारी गरेको सम्बन्धमा सेवाग्राहीलाई असर पर्ने भन्दै सेवा सुचारु गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ।

यद्यपि जेन-जी र समर्थकहरूले भने पहिलो चरणमा कार्यपालिका र आफूहरूको द्वीपक्षीय बैठक हुनपर्ने अडान राखेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ