आन्दोलनले प्रभावित कैलालीका सरकारी कार्यालयलाई सेती महाकाली ट्रक यातायात व्यवसायी संघको सहयोग

धनगढी, ९ असोज। गत भदौमा भएको देशव्यापी आन्दोलनका क्रममा प्रभावित भएका कैलालीका विभिन्न सरकारी कार्यालयहरूको सेवा पुनर्स्थापनामा सघाउन सेती महाकाली ट्रक यातायात व्यवसायी संघ अघि सरेको छ। संघले नागरिकको सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले क्षतिग्रस्त कार्यालयहरूलाई फर्निचर सामग्री सहयोग गरेको हो।

बिहीबार संघले एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय कैलाली, कैलाली जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, कैलाली जिल्ला बार एसोसिएसन र नेपाल गुणस्तर तथा नापतौल विभागको कार्यालयलाई अत्यावश्यक दराज तथा कुर्सीहरू हस्तान्तरण गरेको छ।

संघका अध्यक्ष मोहनसिंह साउदले आफ्नो संस्था सेवामुखी भएकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्न अघि बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ गतेका घटनाक्रमले सरकारी कार्यालयहरूमा पुगेको क्षतिले सेवा प्रवाहमा असर परेको छ। कार्यालयको पुनःस्थापना र काम-काज सुचारु गर्न हाम्रो तर्फबाट सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यी सामग्री हस्तान्तरण गरेका हौँ।”

गत महिना भएको Gen Z आन्दोलनका क्रममा उत्पन्न परिस्थितिका कारण कैलालीका यी सरकारी कार्यालयहरूमा भौतिक क्षति पुग्न गएको थियो, जसले गर्दा सेवा सञ्चालनमा कठिनाइ उत्पन्न भएको थियो।

व्यवसायी संघको यो सहयोगी कदमले कठिन परिस्थितिमा पुनर्निर्माण र नागरिक सेवा सुचारु गर्ने कार्यमा निजी क्षेत्रको सकारात्मक भूमिकालाई उजागर गरेको छ। संघले प्रदान गरेको फर्निचरले तत्कालका लागि कार्यालय व्यवस्थापनमा केही राहत मिल्ने र सेवा प्रवाहलाई निरन्तरता दिन मद्दत पुग्ने सम्बन्धित कार्यालयका प्रमुखहरूले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ