कञ्चनपुर, १४ असोज । कञ्चनपुरको वेदकोट नगरपालिका-३, सिउडीबागस्थित दैजी-जोगबुढा सडकखण्डमा मङ्गलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, दैजीबाट जोगबुढाका लागि छुटेको से १ ज ४१७ नम्बरको बोलेरो जिप दिउँसो करिब पौने ३ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी वेदकोट नगरपालिका-४ की तारा पालकी दुई वर्षीया छोरी युविका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी वेदकोट-४ की ३० वर्षीया तारा पाल, उनका १० वर्षीय छोरा प्रिन्स पाल, कृष्णपुर नगरपालिका-१ वाणीका ३३ वर्षीया धाना बोहरा र उनका ४ वर्षीय छोरा कमल बोहरा घाइते भएका छन् । त्यसैगरी, डडेल्धुराको परशुराम नगरपालिका-४ का २८ वर्षीय नरेश सार्की, परशुराम-९ का ३५ वर्षीय देवेन्द्र धामी, २४ वर्षीय वीरेन्द्र कुँवर र उनकी २१ वर्षीया श्रीमती मनीषा कुँवर पनि घाइते भएका छन् ।
घाइते सबैलाई उद्धार गरी महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि सबै आठ जनालाई कैलालीको धनगढीस्थित विभिन्न अस्पतालमा पठाइएको छ ।
दुर्घटनालगत्तै जिप चालक फरार भएका छन् र उनको खोजी कार्य तीव्र पारिएको कञ्चनपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





