बेलौरीमा भ्रष्टाचार विरुद्ध जेन-जी तथा समर्थक संगठित: १५ सदस्यीय समूह गठन, वडा समिति घोषणाको तयारीमा

बेलौरी, २२ असोज।  जेन-जी बेलौरी तथा समर्थकहरूले आज एक पत्रकार सम्मेलन आयोजना गरी नगरपालिकाभित्रको भ्रष्टाचार र बेथिति विरुद्ध संगठित आन्दोलनको घोषणा गरेका छन्। आन्दोलनलाई वडा तहसम्म विस्तार गर्ने योजना सार्वजनिक गर्दै समूहले आफ्नो १५ सदस्यीय कार्यसमितिको पूर्ण नामावली पनि सार्वजनिक गरेको छ।

केशब कुमार बोहराको संयोजकत्वमा गठन भएको समूहको उप-संयोजकमा विष्णु दत्त अवस्थी, सचिवमा सुरेन्द्र बडू, सह-सचिवमा नविन पौडेल र कोषाध्यक्षमा जयन्ती पाण्डेय रहेका छन्।

त्यसैगरी, सदस्यहरूमा डेविड चन्द, जयप्रकाश बडायक, भुपेश पाण्डेय, नरेश राज पाण्डेय, लक्ष्मण सिंह दियाल, रुपेश आचार्य, रोशनी रावल, तनुजा बोहरा, देवराज राना र प्रतिभा चन्द रहेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै जेन-जीका समर्थक सुरेश बडुले हरेक वडामा ७ सदस्यीय समिति गठन गरी अभियानलाई थप सशक्त बनाइने बताउनुभयो। “नगरपालिकाभित्र भएको बेतिथि र भ्रष्टाचारको विरुद्ध आन्दोलन गर्न यस समूहको निर्माण गरिएको हो,” बडुले भन्नुभयो।

विगत केही समयदेखि बेलौरीमा जेन-जीले उठाउँदै आएका सुशासन र विकासका मुद्दाहरूलाई अब संरचित रूपमा अगाडि बढाउने उद्देश्यले समिति गठन गरी अभियानको आह्वान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ