बेलौरी, कार्तिक ०२। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको संयुक्त पालिका स्तरीय बैठक बेलौरी नगरपालिका-५, भकुण्डास्थित कालेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न भएको छ। बेलौरी नगर सभापति बिष्णु प्रसाद शर्माको सभापतित्वमा सम्पन्न उक्त बैठकमा पार्टीका केन्द्रीय सदस्य बिजय जैरुको प्रमुख उपस्थिति रहेको थियो।

बैठकमा देशको बदलिँदो राजनीतिक परिस्थिति, वर्तमान राजनीतिक तरलता र अस्थिरताको अवस्थामा पार्टीले खेल्नुपर्ने भूमिकाबारे विस्तृत छलफल भएको थियो। सहभागीहरूले देशलाई निकास दिन रास्वपाले लिनुपर्ने पहलकदमीका विषयमा आ-आफ्नो धारणा राखेका थिए।
बैठकको मुख्य एजेन्डामध्ये आगामी संघीय निर्वाचनका लागि सर्वस्वीकार्य उम्मेदवार छनोट गर्ने विधि र प्रक्रियाबारे पनि गम्भीर विमर्श भएको थियो। ‘जेन्जी आन्दोलन’ को भावनाअनुरूप देशलाई यथास्थितिवाद र प्रतिक्रियावादबाट अग्रगमनतर्फ लैजाने विषयमा छलफल केन्द्रित रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय संगठन, नीति तथा महिला विभागका सदस्यहरू, प्रदेश समितिका पदाधिकारी, कैलाली तथा कञ्चनपुर जिल्ला र निर्वाचन क्षेत्र समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी, विभिन्न पालिका तथा वडा स्तरका प्रतिनिधि र सयौँ नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
बैठकले पार्टीको आगामी रणनीति तय गर्दै निर्वाचन लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ। यसका साथै, पार्टीको संरचनागत सुधार, आचारसंहिता निर्माण र पालिका तथा वडा समितिका अधिवेशनहरू सम्पन्न गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरिएको छ।

बैठकका अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो भने सोही क्रममा अन्य दल परित्याग गरी आएका नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरिएको जानकारी राष्ट्रिय स्वतन्त्र पार्टीका बेलौरी नगर सभापति विष्णु शर्मा न्यौपानेले दिएका छन्।





