कञ्चनपुर, ४ कात्तिक।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट कुल नगद रु ७९,१२५ र १० गड्डी तास बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, आज बिहान ४:०० बजेको समयमा बेल्डाडी गाउँपालिका-२, चौवन्नी बजारस्थित एक क्याफेमा जुवातास भइरहेको गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वेलडाडीबाट खटिएको प्रहरी टोलीले लोकेन्द्र बडालले सञ्चालन गरेको झलक क्याफेको दोस्रो तलामा छापा मारेको थियो।
प्रहरीले उक्त स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना मानिसहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट ६ गड्डी तास र नगद रु २७,८६५ बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, आजै बिहान १०:३० बजे बेदकोट नगरपालिका-३, दैजीमा पनि जुवातास भइरहेको सूचनाको आधारमा प्रहरीले कारबाही गरेको छ। प्रहरी पोष्ट दैजीबाट खटिएको टोलीले स्थानीय योग सिह मालीको घर कोठामा जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ४ गड्डी खुला तास र रु ५१,२६० रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ।





