बेलौरीमा स्व. ईशानजंग कुँवरको स्मृति दिवस; बौद्धिक अपाङ्गता श्रोत कक्षाका विद्यार्थीलाई न्यानो सहयोग

कञ्चनपुर, कार्तिक २७ । कञ्चनपुरको बेलौरीमा रहेको सामुदायिक अस्पताल ईशान मेमोरियल अस्पताल ले स्व. ईशानजंग कुँवरको सातौँ स्मृति दिवसको अवसरमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको छ।

अस्पतालले बेलौरी नगरपालिका ६ स्थित महाकाली माध्यमिक विद्यालयको समावेशी कार्यक्रमअन्तर्गत सञ्चालित बौद्धिक अपाङ्गता श्रोत कक्षामा अध्ययनरत १४ जना छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको हो। वितरित सामग्रीहरूमा ट्रयाकसुट, जुत्ता, मोजा र टोपी लगायतका वस्तुहरू समावेश थिए।

कार्यक्रममा अस्पतालका संरक्षक काशीसिंह कुँवर ले ६ वर्षअघि एम्बुलेन्स दुर्घटनामा परी ज्यान गुमाएका आफ्ना नाति ईशानजंग कुँवरको सम्झनामा हरेक वर्ष स्मृति दिवसका दिन सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यहरू गर्दै आएको जानकारी दिनुभयो।

बेलौरी नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख अमितप्रसाद भट्ट ले ईशान मेमोरियल अस्पतालले समुदायमा उत्तरदायी भूमिका निर्वाह गरेको बताउँदै बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो।विद्यालयका प्रधानाध्यापक रमेश सिंह भण्डारी ले विद्यालयमा आई न्यानो कपडा वितरण गरेकोमा अस्पताल परिवारप्रति आभार प्रकट गर्नुभयो।

कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयले गर्नुभएको थियो। सो अवसरमा ईशान मेमोरियल अस्पतालका प्रबन्धक पूजा भट्ट, एचआर विभाग प्रमुख मदनसिंह भण्डारी, डा. दिगम्बर यादव, कलाकार पूजा अधिकारी, शिक्षिका मैयाँ रिजाल, सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ