बेलौरी तोरी र बाख्रा पकेट क्षेत्र घोषित, व्यावसायिक कृषि र पशुपालनका लागि ८० लाख बजेट

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरका नौ वटै स्थानीय तहलाई कृषि तथा पशुपन्छी पकेट क्षेत्र निर्धारण गर्ने कार्यक्रमअन्तर्गत बेलौरी नगरपालिकालाई तोरी र बाख्रापालन पकेट क्षेत्रका रूपमा छनोट गरेको छ । व्यावसायिक कृषि र पशुपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्षको बजेटमार्फत यी कार्यक्रम सञ्चालन गरिएका हुन् ।

कृषि ज्ञान केन्द्र, महेन्द्रनगरका अनुसार बेलौरीलाई तोरी पकेट क्षेत्र निर्धारण गरी रु ४० लाख बजेट विनियोजन गरिएको छ । यो तीन वर्षे कार्यक्रम हो जसले किसानलाई व्यावसायिक रूपमा अघि बढाउन मद्दत गर्नेछ । जिल्लाका अन्य पालिकाहरूमा भीमदत्त नगरपालिकालाई केरा, कृष्णपुरलाई तरकारी, र लालझाँडी गाउँपालिकालाई दलहन पकेट क्षेत्र बनाइएको छ । त्यसैगरी बेदकोट, शुक्लाफाँटा, पूर्नवास, दोधारा चाँदनी र बेल्डाँडीलाई आलु पकेट क्षेत्र निर्धारण गरिएको छ, जसका लागि कोल्डस्टोरको समेत व्यवस्था गरिएको छ ।

यसैगरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कञ्चनपुरले पनि पालिका विशेष उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । जसअनुसार बेलौरी नगरपालिकालाई लालझाँडी गाउँपालिकासँगै बाख्रा पकेट क्षेत्रका लागि छनोट गरिएको छ । वरिष्ठ पशु विकास अधिकृत श्याम सिंह खड्काका अनुसार बाख्रा पकेट क्षेत्रका लागि बेलौरीमा रु ४० लाख बजेट विनियोजन भएको छ । जिल्लाका अन्य सात पालिकाहरू कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वासलाई भने भैँसीपालन पकेट क्षेत्र निर्धारण गरिएको छ । पशुपन्छीतर्फ पुनर्वासका लागि रु ६० लाख र भीमदत्तका लागि रु ५० लाख बजेट आएको छ । अधिकारीहरूका अनुसार सम्भावना देखिएका पशुपन्छीको उत्पादन बढाएर व्यावसायिक कृषिको विकास गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ