कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समितिको निर्वाचन तालिका सार्वजनिक, पुस १९ मा मतदान हुने

कञ्चनपुर।  कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। निर्वाचन समितिले आज (पुस १ गते) निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आउँदो पुस १९ गते नयाँ नेतृत्व चयनका लागि मतदान हुने जानकारी गराएको छ।

मुख्य निर्वाचन आयुक्त पूर्णबहादुर चन्द तथा निर्वाचन आयुक्तहरू एकराज भट्ट र प्रकाश राज पाठकद्वारा जारी गरिएको सूचना अनुसार, निर्वाचनका लागि मतदाता नामावली प्रकाशनदेखि मतदानसम्मको विस्तृत तालिका तय गरिएको छ। सार्वजनिक कार्यतालिका अनुसार पुस ८ गते मतदाता नामावली प्रकाशन हुनेछ भने सोही नामावली उपर दाबी विरोधका लागि पुस ९ गतेको समय छुट्याइएको छ। अन्तिम मतदाता नामावली पुस १० गते प्रकाशन गरिनेछ। यस्तै, संघको सभाकक्षमा हुने निर्वाचनका लागि पुस १२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ भने उम्मेदवारहरूको अन्तिम नामावली पुस १४ गते साँझ ५ बजे प्रकाशन हुनेछ।

निर्वाचन समितिले विभिन्न पदका लागि मनोनयन शुल्क समेत निर्धारण गरेको छ। जसअनुसार अध्यक्ष पदका लागि रु. ५१,०००, वरिष्ठ उपाध्यक्षका लागि रु. ४१,००० र अन्य पदाधिकारीहरू (उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष) का लागि रु. ३१,००० शुल्क तोकिएको छ। त्यस्तै, कार्यकारिणी समिति सदस्य र संस्थागत प्रतिनिधिको उम्मेदवारीका लागि रु. १५,००० शुल्क बुझाउनुपर्नेछ। उम्मेदवार बन्न चाहने व्यवसायीले मनोनयन पत्रका साथ नेपाली नागरिकताको प्रतिलिपि, फर्म रजिस्ट्रेसनको प्रमाणपत्र र स्थायी लेखा नम्बर को प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

मतदान कार्यक्रम पुस १९ गते बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म चल्नेछ भने मतगणना पुस २० गते बिहान ९ बजेदेखि सुरु हुनेछ। मतदाताहरूले मतदान गर्नका लागि अनिवार्य रूपमा नागरिकता, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा राहदानी साथमा ल्याउनुपर्नेछ। यस निर्वाचनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ विषयगत उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोषाध्यक्ष, ७ कार्यकारिणी सदस्य र १ संस्थागत प्रतिनिधि गरी कुल १५ जनाको नयाँ कार्यसमिति चयन हुनेछ जसलाई कञ्चनपुरको व्यावसायिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ