निर्वाचन सार्ने दुस्साहस गरे चुप लाग्दैनौं : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न आग्रह गर्दै मिति सार्ने दुस्साहस नगर्न कडा चेतावनी दिनुभएको छ । शनिबार काठमाडौँमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन सारिए वा संविधान मिचिए आफ्नो पार्टी टुलुटुलु हेरेर नबस्ने स्पष्ट पार्नुभएको हो ।

संयोजक प्रचण्डले देशको असहज परिस्थितिलाई मध्यनजर गर्दै वर्तमान अन्तरिम सरकार गठनमा आफूहरूले सहजीकरण गरेको स्मरण गराउनुभयो । उहाँले कुनै पनि तर्क वा बहानामा निर्वाचन पर धकेल्ने प्रयास भए त्यो संविधानमाथिको अर्को प्रहार हुने बताउनुभयो । “तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला,” सरकारलाई सचेत गराउँदै उहाँले भन्नुभयो, “यो सरकारले फेरि निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्‍यो भने संविधान मिचिन्छ, त्यस्तो अवस्थामा हामी चुप लागेर बस्ने छैनौँ ।”

धनगढीदेखि लम्ही, पोखरा, विराटनगर हुँदै काठमाडौँसम्म देखिएको जनसागरलाई खेलाँची नठान्न चेतावनी दिँदै उहाँले त्याग र निष्ठा नभएका दम्भी शक्तिहरूले प्रतिशोधको राजनीति गर्न खोजेको आरोप लगाउनुभयो । ६ महिना वा १ वर्ष समय थप्ने हल्ला सत्य सावित भए देश दुर्घटनामा जाने र त्यसको प्रतिकार गर्न आफ्नो पार्टी ७७ वटै जिल्ला र सबै पालिकाबाट समाजवादी विद्रोहको झन्डा बोकेर सडकमा ओर्लिने उहाँको उद्घोष थियो ।

जनयुद्ध र जनआन्दोलनको बलमा २४० वर्ष पुरानो राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको शक्तिलाई नजिस्क्याउन उहाँले आग्रह गर्नुभयो । शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न होस् भन्ने आफ्नो पार्टीको चाहना रहेको भन्दै उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ