पुनर्वास–१० मा विद्यार्थीहरूका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।

पुनर्वास। कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित श्री विजय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरिएको छ ।

अस्थायी ट्राफिक प्रहरी कार्यालय डोकेबजारको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक नियम तथा संकेत, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका विभिन्न उपायहरूबारे जानकारी गराइएको थियो। कार्यक्रमका प्रमुख प्रशिक्षक तथा अस्थायी ट्राफिक प्रहरी कार्यालय डोकेबजारका प्रमुख ट्राफिक प्रहरी हवल्दार दीपक बिष्टले विद्यार्थीहरूलाई पैदल यात्रीका रूपमा अपनाउनुपर्ने सावधानी, जेब्रा क्रसिङको सही प्रयोग, ट्राफिक बत्तीको अर्थ, सडकमा हिँड्दा बायाँ–दायाँ हेर्ने बानी, विद्यालय वरपर सुरक्षित आवतजावत गर्ने तरिका तथा बालबालिकाले सवारी साधनमा यात्रा गर्दा अपनाउनुपर्ने सुरक्षात्मक उपायहरूको बारेमा जानकारी दिनुभएको थियो।

त्यसैगरी, मोटरसाइकलमा हेल्मेट प्रयोगको अनिवार्यता, सिटबेल्टको महत्व, ओभरस्पिड र लापरबाहीका कारण हुने दुर्घटनाका असर, मोबाइल फोन प्रयोग गर्दै सवारी नचलाउनुपर्ने कारण तथा ट्राफिक नियम उल्लङ्घन गर्दा हुने कानुनी कारबाहीका विषयमा समेत विद्यार्थीहरूलाई सचेत गराइएको उहाँले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक भवानीदत्त अवस्थिले ट्राफिक सचेतना कार्यक्रमबाट विद्यार्थीहरूले व्यवहारिक रूपमा धेरै कुरा बुझ्न पाएको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सानै उमेरदेखि ट्राफिक नियम पालन गर्ने बानी विकास हुने र भविष्यमा जिम्मेवार नागरिक बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी अभिभावक, शिक्षक, विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो भने उनीहरूले जिज्ञासा राख्दै ट्राफिकसम्बन्धी विभिन्न प्रश्नहरू सोधेका थिए। सोही क्रममा १ सय ५० भन्दा बढी ट्राफिक सचेतनामूलक पर्चा पम्प्लेटहरू समेत वितरण गरिएको थियो। विद्यालय प्रशासनले यस्ता सचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ