सेती महाकाली ट्रान्सपोर्टको नवौँ साधारणसभा: ‘संकटमा जनताको प्राण धान्ने हामी, राज्यको प्राथमिकतामा सधैं पछाडि’

गोदावरी (कैलाली), १२ पुष । सुदूरपश्चिम प्रदेशको आपूर्ति व्यवस्थापन र औद्योगिक विकासको मेरुदण्ड मानिने सेती महाकाली ट्रान्सपोर्ट एशोसिएसनको नवौँ वार्षिक साधारणसभा शनिबार कैलालीको गोदावरी नगरपालिका ४ स्थित हाटखोलीको रमणीय स्थलमा सम्पन्न भएको छ। साधारणसभामा सहभागी व्यवसायीहरूले राज्यको अस्थिर नीति र प्रशासनिक झन्झटले व्यवसाय सञ्चालनमा चुनौती थपिएको भन्दै पेसागत मर्यादा र स्पष्ट नीतिको माग गरेका छन्।

एशोसिएसनका अध्यक्ष रघुनाथ जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै व्यवसायीहरूले विपद् र महामारीका समयमा ज्यानको बाजी लगाएर सेवा दिए पनि राज्यले उचित कदर गर्न नसकेको गुनासो गरे। अध्यक्ष जोशीले भन्नुभयो, “२०६४ सालमा स्थापना भएदेखि नै हामीले कोभिड महामारी होस् वा नाकाबन्दी, जनताको घरदैलोमा औषधि र खाद्यान्न पुर्‍याउन कहिल्यै पछि हटेनौँ। तर सिंहदरबारले राजधानीका व्यवसायीलाई मात्र देख्यो, सुदूरका कुनाकन्दरामा सेवा दिने हामी सधैं ओझेलमा पर्‍यौँ।”

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल ढुवानी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश संयोजक तथा संस्थाका संस्थापक अध्यक्ष  चेतराज जोशीले ढुवानी व्यवसाय राज्यको नसा जस्तै अपरिहार्य भए पनि प्रशासनबाट ‘हेला’ गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “औषधि र अत्यावश्यक वस्तु बोक्दा पनि ट्राफिक जाम र चेकिङका नाममा हामीलाई दुःख दिइन्छ। दुर्घटना हुँदा एकतर्फी दोषी करार गरिन्छ। अब व्यवसायी, उद्योगी र प्रशासनबीच समन्वय नभए व्यवसाय बचाउन मुस्किल छ।”

साधारणसभाले संस्थाको सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। बन्द सत्रमा वार्षिक प्रगति प्रतिवेदन र ‍आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो, जसलाई सभाले अनुमोदन गरेको छ।

उपाध्यक्ष लोकराज जोशीले संस्थाको नवीकरण प्रक्रिया र सदस्यता विस्तारबारे जानकारी गराउँदै नयाँ व्यवसायीहरू (जस्तै:  डाँडाबाग ट्रान्सपोर्ट) लाई संस्थामा स्वागत गरिएको बताउनुभयो। कार्यक्रममा महासचिव अर्जुन खतिवडा , कोषाध्यक्ष प्रेम बहादुर विष्ट,  सदस्य नवराज बोहरा, सदस्य राजन श्रेष्ठ, सदस्य सलिम अन्सारी, सदस्य राम प्र. महराई को उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मिट्ठु कुँवर र धर्मराज भट्टको उपस्थिति रहेको थियो। साथै, अतिथिहरू रमेश प्रसाद बोहरा, सुरेन्द्र कठायत लगायत स्वस्तिका ढुवानी, गौरव ट्रान्सपोर्ट, मधु ढुवानी लगायतका विभिन्न ट्रान्सपोर्ट प्रालिका प्रतिनिधि र साधारण सदस्यहरूको उल्लेख्य सहभागिता थियो।

साधारणसभाले व्यवसायीहरूबीचको एकतालाई थप मजबुत बनाउने, राज्यका निकायसँग समन्वय बढाउने र ढुवानी क्षेत्रलाई मर्यादित पेसाका रूपमा स्थापित गर्न संस्थागत पहलकदमी जारी राख्ने निर्णय गरेको छ। हाटखोलीको बगरमा सम्पन्न यो भेलाले सुदूरपश्चिमको ढुवानी क्षेत्रलाई व्यवस्थित गर्न नयाँ ऊर्जा थपेको विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ