कञ्चनपुर ।नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले पछिल्लो समय जिल्लामा सञ्चारकर्मी र सञ्चारमाध्यमका विषयमा भइरहेका अमर्यादित टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक व्यवस्थामा आलोचना र खबरदारीको अधिकार सबैलाई भए पनि पत्रकारको चरित्र हत्या गर्ने र असभ्य गालीगलौज गर्ने छुट कसैलाई नभएको स्पष्ट पारेको हो ।
महासंघका शाखा सचिव कुन्दन पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तिमा व्यक्तिगत स्वार्थ पूरा नभएको निहुँमा वा अन्य कुनै रिसइबी साँध्न समग्र पत्रकारिता पेसालाई नै जोडेर गालीगलौज गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘लोकतान्त्रिक प्रणालीमा हरेक विषयमा बोल्ने र लेख्ने अधिकार कानुनले सुरक्षित गरेको छ, तर असभ्य र छाडा लेख्ने वा बोल्ने अधिकार कसैलाई छैन,’ महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ । गैर पेसागत विषयलाई लिएर पत्रकारलाई होच्याउने, बदनाम गर्ने र मनगढन्ते आरोप लगाउने कार्य तत्काल बन्द गर्न महासंघले चेतावनी दिएको छ ।
साथै, महासंघले पत्रकारिताको आवरणमा हुने गलत क्रियाकलापको पनि बचाउ नगर्ने स्पष्ट पारेको छ । यदि कुनै पत्रकारले आचारसंहिता विपरीत कार्य गरेको, धम्क्याएको वा ‘बार्गेनिङ’ गरेको प्रमाण भए कानुनी बाटो रोज्न महासंघले सुझाएको छ । ‘पत्रकारिताको आवरणमा कोही कसैले गलत काम गरेको भए प्रमाणसहित महासंघ वा प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनी प्रक्रियामा जानुको साटो संस्थागत रूपमा पत्रकारलाई बदनाम गराउने कार्य स्वीकार्य हुने छैन ।’
महासंघले जिल्लामा कार्यरत सम्पूर्ण सञ्चारकर्मीहरूलाई पनि पेसागत मर्यादा र आचारसंहिताको कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । गलत गर्ने पत्रकारलाई कारबाहीको दायरामा ल्याउन महासंघ स्वयम्ले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, समाजका अन्य पक्षलाई पनि संयमित भई सभ्य समाज निर्माणमा सहयोग गर्न महासंघले अपिल गरेको छ ।





