कञ्चनपुर, २२ पुस । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित एक किशोरलाई पक्राउ गरेको छ।
लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बेलडाँडी गाउँपालिका–२, चवन्नी खल्लाबाट १८ वर्षीय निशान्त रानालाई पक्राउ गरेको हो।
मंगलबार दिउँसो अन्दाजी ४:०० बजेको समयमा ‘आउट अफ जोन रिसोर्ट’ नजिकै शंकास्पद अवस्थामा फेला परेका रानालाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
लागु औषध नियन्त्रण ब्युरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको संयुक्त प्रहरी टोलीले रानाको शरीर खानतलासी गर्दा उनले लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध फेला पारेको थियो। प्रहरीका अनुसार, सेतो प्लास्टिकभित्र लुकाएको अवस्थामा २१ ग्राम १३० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको छ।
प्रहरीले निज निशान्त रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ। कानुन बमोजिम निजमाथि लागुऔषध ओसारपसार तथा सञ्चय सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान हुने प्रहरीले जनाएको छ।





