काठमाडौं। नेपाली कांग्रेसभित्र नेतृत्व र नीतिगत सुधारको बहस पेचिलो बन्दै जाँदा विशेष महाधिवेशनको पक्षमा झण्डै दुई–तिहाइ प्रतिनिधिहरू उभिएका छन् । पार्टीको विशेष महाधिवेशनको माग गर्दै कुल महाधिवेशन प्रतिनिधिमध्ये ६२ प्रतिशतले हस्ताक्षर गरेको दाबी गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित विशेष महाधिवेशन अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता थापाले प्रतिनिधिहरूको उल्लेख्य समर्थन जुटेको जानकारी गराएका हुन् । कांग्रेसमा हाल देशभरबाट ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि कायम रहेका छन् । तीमध्ये ६२ प्रतिशत प्रतिनिधिले पार्टीको पुनर्जागरण र विधि सम्मत सञ्चालनका लागि विशेष महाधिवेशन अनिवार्य भएको भन्दै हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका हुन् ।
पार्टी विधान अनुसार विशेष महाधिवेशन बोलाउनका लागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्ने व्यवस्था छ । तर, आवश्यक संख्याभन्दा निकै बढी अर्थात् ६२ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन हुनुले नेतृत्वलाई गम्भीर नैतिक दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ । यो हस्ताक्षर संकलनले पार्टीभित्रको असन्तुष्टि र परिवर्तनको चाहना तल्लो तहसम्मै व्याप्त रहेको स्पष्ट संकेत गरेको छ ।





