काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र आज बिहान ९ बजेबाट पुनः सुरु हुने भएको छ । तोकिएको समयमा प्रतिवेदन उपरको छलफल नसकिएपछि महाधिवेशनको कार्यतालिका संशोधन गरिएको हो ।
पूर्व निर्धारित कार्यतालिका अनुसार पुस २७ र २८ गतेका लागि आयोजना गरिएको दोस्रो विशेष महाधिवेशनमा समय अभाव देखिएको थियो । सोमबार सुरु भएको बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू माथि गहन छलफल लम्बिएकाले कार्यतालिका परिमार्जन गर्नु परेको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए । आचार्यका अनुसार बन्दसत्र जारी रहँदा आज पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया निरन्तर चलिरहने छ ।
विशेष महाधिवेशन आयोजक पक्षले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने प्रतिनिधिहरूको संख्या सत्तरी प्रतिशत पुर्याउने दाबी गरेको छ । नेता सुवास पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै हस्ताक्षर गर्नेहरूको संख्या उत्साहजनक रूपमा बढेको जिकिर गरे । उनका अनुसार आइतबार २ हजार ६ सय ६२ प्रतिनिधिले हस्ताक्षर गरेकोमा सोमबार सो संख्यामा ६.२४ प्रतिशतले वृद्धि भएको छ । पोखरेलले मङ्गलवार नेतृत्व चयन प्रक्रिया अघि बढ्ने जानकारी दिँदै सोही दिन निर्वाचन, अनुशासन र केन्द्रीय समिति लगायतका संरचनाहरू भङ्ग गर्ने प्रस्ताव पेस गरिने समेत स्पष्ट पारे ।
यसैबिच, महाधिवेशन आयोजक समितिले संस्थापन पक्षलाई पनि सहमतिमा ल्याउने कसरत जारी राखेको छ । पार्टीको आन्तरिक एकता कायम राख्न सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशनको नेतृत्व गरिरहेको गगन विश्व समूहबिच आज पनि निर्णायक वार्ता हुने बुझिएको छ । उक्त वार्तामा आयोजक पक्षबाट नेताहरू प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य सहभागी हुनेछन् । पार्टी भित्रको आन्तरिक लोकतन्त्र सुदृढीकरणका लागि यो विशेष महाधिवेशनलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।





