गगनलाई सुजाताको सन्देश– ‘सिंगो कांग्रेसको साथ छ, विपी र गिरिजाबाबुको बाटो नबिर्सनुहोला’

कञ्चन आवाज संवाददाता काठमाडौँ/कञ्चनपुर। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं नेतृ सुजाता कोइरालाले पार्टी नेतृत्वमा आएको परिवर्तनलाई स्वाभाविक भन्दै नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिएकी छन्। उनले जनचाहना र समयको माग अनुसार पार्टीमा नेतृत्व परिवर्तन भएको उल्लेख गर्दै यसलाई सहज रूपमा लिन र पार्टी विभाजनको भ्रममा नपर्न सबैलाई आग्रह गरेकी हुन्।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कोइरालाले कांग्रेसभित्रको पछिल्लो परिवर्तनलाई खुशीका साथ आत्मसात गर्नुपर्नेमा जोड दिएकी छन्। उनले पार्टी फुटेको नभई नेतृत्व मात्र परिवर्तन भएको स्पष्ट पार्दै भनिन्, ‘नयाँ सभापति आउनुभएको छ, अलि छिटो आउनुभयो, त्यति मात्रै फरक हो। नयाँ सभापति गगन थापालाई म बधाई दिन चाहन्छु।’

नेतृ कोइरालाले नवनिर्वाचित सभापति थापालाई नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको विचार र पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले निर्माण गरेको संगठनको मर्मलाई नबिर्सी अघि बढ्न सुझाव समेत दिएकी छन्। उनले देश र जनताको उन्नतिमा लाग्न सभापति थापालाई आग्रह गर्दै भनिन्, ‘नेपाली कांग्रेसलाई राम्रो बनाउनुस्, तपाईंलाई सम्पूर्ण जनताले मान्ने छन् र सिंगो कांग्रेसले साथ दिनेछ।’

कोइरालाले पार्टीको कार्यालय, चारतारे झण्डा, रुख चिन्ह र कार्यकर्ताहरू उही रहेकाले पार्टी फुटेको हल्ला र भ्रममा नपर्न आग्रह गरिन्। नेतृत्व परिवर्तनले मात्र पार्टी विभाजन नहुने उनको तर्क छ। ‘पार्टीको अफिस त्यही हो, मान्छे त्यही हो, यता उता सबै मान्छे त्यही हो। पार्टी कहाँ फुटेको छ?,’ उनले प्रश्न गरेकी छन्।

नेतृत्व परिवर्तनबाट असन्तुष्ट वा सशंकित बनेका नेता तथा कार्यकर्तालाई पनि संयमित रहन उनले आग्रह गरेकी छन्। कानुनी व्याख्यामा नअल्झिन र आगामी निर्वाचनको तयारीमा लाग्न सुझाउँदै उनले भनिन्, ‘किन डराएको? फेरि अर्को चुनाव आउँदै छ। अर्को चुनावमा सहभागी हुनुस् र नेपाली कांग्रेसलाई फेरि सभापतिको चुनाव गरेर नयाँ परिवर्तन दिनुस्।’

मुलुकले खोजेको परिवर्तनलाई स्वीकार गर्दै नआत्तिन, नतर्सिन र दिक्क नमान्न आग्रह गर्दै उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ