काठमाडौं।प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयनमा राजनीतिक दलहरूलाई समयको दबाब बढेसँगै निर्वाचन आयोगले मनोनयन दर्ताको समय तालिकामा केही हेरफेर गर्ने संकेत गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको मतदानको मिति प्रभावित नहुने गरी उम्मेदवारी दर्ताको समय केही दिन पर सार्न आयोग लचिलो देखिएको हो ।
विभिन्न राजनीतिक दलहरूबाट उम्मेदवारी मनोनयनको समय सार्नका लागि औपचारिक तथा अनौपचारिक रूपमा निर्वाचन आयोगमा दबाब पुगिरहेको छ । उम्मेदवार छनोटको चटारो र आन्तरिक तयारीका लागि समय अपुग भएको भन्दै दलहरूले आयोगको ध्यानाकर्षण गराएका हुन् । आयोगका एक आयुक्तका अनुसार चौतर्फी दबाब आएको र यस विषयमा सर्वदलीय सहमति जुटेको खण्डमा एक देखि दुई दिनसम्म मिति सर्न सक्ने सम्भावना रहेको छ ।
विशेष गरी नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले पनि यसमा प्रभाव पारेको देखिन्छ । कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत गएको छ । उक्त पक्षले अदालती प्रक्रिया र उम्मेदवार चयनको जटिलतालाई कारण देखाउँदै आयोगमै पुगेर मनोनयनको मिति सार्न आग्रह गरेको बुझिएको छ ।
आयोगले भने निर्वाचनको मूल मिति फागुन २१ गतेलाई कुनै असर नपर्ने गरी मात्र कार्यतालिकामा संशोधन गर्न सकिने स्पष्ट पारेको छ । दलहरूको आग्रह र सम्भावित सर्वदलीय सहमतिका आधारमा आयोगले छिट्टै यसबारे आधिकारिक निर्णय लिने अपेक्षा गरिएको छ ।





