बेलौरी, कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले आज (आइतबार) मध्यरातदेखि ‘निर्वाचन आचारसंहिता–२०८२’ लागू गर्ने घोषणा गरेको छ। आचारसंहिता लागू भएसँगै सरकार, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायहरूमाथि आयोगको विशेष निगरानी सुरु हुनेछ।
निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुनले दिएको जानकारी अनुसार, आज राति १२ बजेबाट आचारसंहिता पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। आयोगले यसअघि नै आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ भने कार्यान्वयनको पूर्वसन्ध्यामा प्रधानमन्त्री तथा मन्त्रीहरूसँग छलफल समेत गरेको थियो।
आगामी मंगलबार, माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यतालिका रहेको सन्दर्भमा आयोगले यो कदम चालेको हो। आचारसंहिता लागू भएपश्चात् सरकारले नयाँ योजना घोषणा गर्न, शिलान्यास वा उद्घाटन गर्न तथा राज्यको स्रोतसाधनको दुरुपयोग गरेर कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार गर्न पाउने छैन।
बेलौरी लगायत कञ्चनपुर र सुदूरपश्चिमका राजनीतिक वृत्तमा पनि यसको प्रत्यक्ष प्रभाव देखिनेछ। अब दलहरूले आफ्ना चुनावी सभा, प्रचार सामाग्री र कार्यकर्ता परिचालनलाई आचारसंहिताको दायराभित्र रहेर मात्र अघि बढाउनुपर्नेछ।
निर्वाचनको मिति नजिकिँदै गर्दा र आचारसंहिताको डन्डा बर्सिएसँगै अब गाउँ–गाउँमा चुनावी सरगर्मी बढ्ने तर भड्किलो प्रचारशैलीमा भने अंकुश लाग्ने अपेक्षा गरिएको छ।





