काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाको उच्च तहमा पुनः संरचना गर्दै ८ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयले आइतबार एक निर्णय गर्दै संगठनात्मक आवश्यकता अनुसार विभिन्न प्रदेश तथा विभागहरूमा कार्यरत डिआइजीहरूको जिम्मेवारी हेरफेर गरेको हो।
प्रधान कार्यालयको निर्णय अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको नेतृत्व परिवर्तन भएको छ। बागमतीका प्रमुख अरूण पौडेललाई प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा सरुवा गरिएको छ। पौडेलको ठाउँमा अन्वेषण योजना तथा विकास निर्देशनालयका दीपक रेग्मीलाई बागमती प्रदेशको कमान्ड सुम्पिएको छ। यस्तै, कार्य विभागमा कार्यरत जयराज सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको जिम्मेवारी दिइएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पनि नेतृत्व परिवर्तन गरिएको छ। गण्डकीमा कार्यरत डिआइजी दिनेशकुमार आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा पठाइएको छ भने गण्डकी प्रदेशको प्रहरी प्रमुखका रूपमा दिपेन्द्र घर्ती क्षेत्रीलाई पठाइएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरको जिम्मेवारी भने अब भूपेन्द्रबहादुर खत्रीले सम्हाल्नेछन्।
प्रहरीको महत्त्वपूर्ण अनुसन्धान गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा माधवप्रसाद श्रेष्ठको सरुवा भएको छ। यसैगरी, राजेन्द्रप्रसाद भट्टलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन गरिएको छ। सरुवा भएका सम्पूर्ण उच्च प्रहरी अधिकृतहरूलाई तत्काल रमाना लिई आ-आफ्नो तोकिएको नयाँ कार्यक्षेत्रमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।





