‘हाम्रो पुनर्वास, राम्रो पुनर्वास’ भन्ने मूल नाराका साथ पुनर्वास महोत्सव २०८२ आयोजना हुँदै

पुनर्वास, कञ्चनपुर ।

पुनर्वास उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यही माघ २३ गतेदेखि भव्य रूपमा ‘पुनर्वास महोत्सव २०८२’ सञ्चालन हुने भएको छ। स्थानीय व्यापार, कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो महोत्सव फाल्गुन ४ गतेसम्म चल्नेछ।

‘हाम्रो पुनर्वास, राम्रो पुनर्वास भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन र स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

रायमाझीले भने, “यो महोत्सव केवल मनोरञ्जनका लागि मात्र होइन, यसले पुनर्वासको आर्थिक र सामाजिक विकासमा टेवा पुर्‍याउनेछ। हामीले स्थानीय व्यापार र उत्पादनलाई प्राथमिकतामा राखेका छौं।”

महोत्सव घोषणा कार्यक्रममा पुनर्वास उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भरत विष्ट, महासचिव दाउत तामाङ्ग,निवर्तमान अध्यक्ष कृष्ण बहादुर तामाङ ,वाणीज्य उपाध्यक्ष लक्ष्मण थापा, कार्यसमिति सदस्य नवीन तिमिल्सिना लगायत पदाधिकारिहरुको विशेष उपस्थिति रहेको थियो।

पदाधिकारीहरूले महोत्सव सफल पार्न सम्पूर्ण नगरवासी, व्यापारी, बुद्धिजीवी र सरोकारवाला निकायहरूसँग सहयोगको अपिल गरेका छन्। महोत्सवमा कृषि प्रदर्शनी, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र विभिन्न व्यापारिक स्टलहरू रहने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ