कैलाली–५ मा कांग्रेसको ‘सरप्राइज’ : आरजुलाई पछि पार्दै नरनारायण शाह बने उम्मेदवार

धनगढी।  सुदूरपश्चिमको राजनीतिमा सधैं चर्चाको केन्द्रमा रहने कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसले यसपटक अप्रत्याशित निर्णय गरेको छ। पार्टीको केन्द्रीय नेतृत्वले ‘हेभीवेट’ मानिने नेतृ तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाको सट्टा सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि यहाँको चुनावी माहोल एकाएक तातेको छ।

पार्टी महामन्त्री गगनकुमार थापाद्वारा हस्ताक्षरित पत्रमार्फत शाहलाई आधिकारिक उम्मेदवार तोकिएको जानकारी दिइएको हो। यसअघि कैलाली–५ बाट उम्मेदवार बन्नका लागि डा. आरजु राणा देउवा, पूर्वसांसद डिल्लीराज पन्त र पूर्वमेयर नृपबहादुर ओडको नाम सिफारिस भएको थियो। आरजु राणाको ‘गृह क्षेत्र’ मानिने र कांग्रेस सभापति शेरबहादुर देउवाको प्रभाव क्षेत्रका रूपमा चिनिने यस निर्वाचन क्षेत्रमा राणाले टिकट नपाउनुलाई सुदूरपश्चिम कांग्रेस भित्रको शक्ति सन्तुलनमा आएको बदलावका रूपमा हेरिएको छ।

नरनारायण शाह कांग्रेसको स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय नाम हो। उनी कांग्रेस कैलालीका पूर्वसभापति समेत हुन्। स्थानीय कार्यकर्ताहरुको भावना बुझ्ने र संगठनमा निरन्तर खटिने नेताका रूपमा शाहको छवि स्थापित छ। आरजु राणाले टिकट नपाउँदा देउवा पक्षधर केही कार्यकर्तामा निराशा देखिए पनि, स्थानीय नेतालाई टिकट दिइएको भन्दै संस्थापन इतर र तल्लो तहका कार्यकर्ताहरूले भने निर्णयको स्वागत गरेका छन्।

विगतका निर्वाचनमा आन्तरिक किचलो र ‘बाहिरी उम्मेदवार’ को ट्यागका कारण कांग्रेसले भोग्नुपरेको पराजयलाई मध्यनजर गर्दै केन्द्रले यसपटक स्थानीय र संगठनमा भिजेको पात्रलाई अघि सारेको विश्लेषण गरिएको छ। सिफारिसमा परेका डिल्लीराज पन्त र नृप ओड पनि यहाँका प्रभावशाली नेता हुन्, तर पार्टीले शाहमाथि भरोसा जताएको छ।

शाहको उम्मेदवारीसँगै कैलाली–५ को चुनावी समीकरण बदलिएको छ। एकातिर एमाले र अन्य दलहरूको बलियो उपस्थिति र अर्कोतिर कांग्रेस भित्रको असन्तुष्ट पक्षलाई समेट्नुपर्ने चुनौती शाहसामु छ। सुदूरपश्चिमको विकास र यहाँको राजनीतिक स्थायित्वका लागि यो निर्वाचन क्षेत्र सधैं निर्णायक मानिन्छ। अब शाहले आरजु राणाको समर्थन र स्थानीय कार्यकर्ताको जोशलाई कसरी मतमा परिणत गर्छन्, त्यो नै यहाँको मुख्य चासोको विषय बनेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ