कञ्चन आवज
बेलौरी, कञ्चनपुर
सुदूरपश्चिमको राजनीतिमा सधैं चर्चाको केन्द्रमा रहने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा आसन्न निर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । मुख्य दलका ‘हेभीवेट’ नेतादेखि स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थितिले यस क्षेत्रको चुनावी समीकरणलाई पेचिलो र रोचक मोडमा पुर्याएको छ ।
कञ्चनपुर क्षेत्र न १ निर्वाचन अधिकृतको कार्यालय अनुसार मंगलबार उत्साहजनक रूपमा सम्पन्न मनोनयन दर्ता प्रक्रियामा नेकपा (एमाले) बाट पुनर्वास नगरपालिका–३ निवासी ५२ वर्षीय निर्वतमान सांसद तारा लामा तामाङले उम्मेदवारी दर्ता गराएका छन् । तामाङको उम्मेदवारीले यस क्षेत्रमा एमालेको दाबेदारीलाई बलियो बनाएको विश्लेषण गरिएको छ । त्यस्तै, राष्ट्रिय राजनीतिमा स्थापित अनुहार एवं पूर्वमन्त्री ४२ वर्षीया वीना मगरले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएकी छिन् । विगतका निर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका तामाङ र मगरको पुन: आगमनले यस क्षेत्रको चुनावी माहोल तताएको छ ।
नेपाली कांग्रेसले बेलौरी नगरपालिका–१० का ४६ वर्षीय विद्यार्थी नेता गोपी प्रसाद उपाध्यायलाई मैदानमा उतारेको छ भने उदाउँदो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बेलडाँडी–४ का ५५ वर्षीय जनक सिंह धामीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट बेलौरी–२ का ४३ वर्षीय पुरन राना थारु र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बेलौरी–१ का ६४ वर्षीय दिल्ली बहादुर शाहीको उम्मेदवारी परेको छ ।
यसपटकको निर्वाचनमा साना दल र स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति पनि बाक्लो देखिएको छ । नेपाल मजदुर किसान पार्टीबाट कटक बहादुर शाही, मंगोल नेशनल अर्गनाइजेसनबाट हुम बहादुर गुरुङ्ग, नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलालीका कृष्ण बहादुर चौधरी र आम जनता पार्टीबाट सिता वि.क. ले मनोनयन दर्ता गराएका छन् । साथै, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, संयुक्त नागरिक पार्टी र मितेरी पार्टी नेपालजस्ता दलहरूले पनि आ–आफ्ना उम्मेदवार खडा गरेका छन् ।
लैंगिक समावेशिताको दृष्टिकोणले १९ जनाको सूचीमा ४ जना महिला उम्मेदवार रहेका छन् । वीना मगर र सिता वि.क. बाहेक स्वतन्त्र रूपमा बेलौरी–१ की रुपा देवी बिष्ट र बेलौरी–६ की मन्जु देवी सुनारले उम्मेदवारी दिएका छन् । उमेर समूहका हिसाबले सबैभन्दा कान्छा उम्मेदवारहरू २७ वर्षीय यादव सिंह, अनिल राना, दानियल वि.क. र सिया राम राना रहेका छन् भने ज्येष्ठ उम्मेदवार ६५ वर्षीय कटक बहादुर शाही रहेका छन् ।
भौगोलिक रूपमा कञ्चनपुरको दक्षिणी भेगका रूपमा परिचित यस क्षेत्रमा विकास निर्माण, सीमा समस्या र कृषि क्षेत्रका मुद्दाहरू पेचिलो बन्दै गएका छन् । १९ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएसँगै अबको प्रतिस्पर्धा विकास र समृद्धिको एजेन्डामा केन्द्रित हुने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले उम्मेदवारी उपर दावी विरोध र जाँचबुझको समय तोकेसँगै उम्मेदवारहरू अब मतदाताको घरदैलोमा केन्द्रित हुनेछन् ।







