बेलौरी, कञ्चनपुर
सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको सालको काठ र चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी दोदाबाट खटिएको टोलीले मंगलबार राति गस्तीको क्रममा अवैध काठ तथा राँगासहितको डल्लव नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक ज्ञानचन्द्र पराजुलीको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा यो अपरेसन चलाएको थियो । टोलीले पूर्वमा दुदुवा नेसनल पार्क, पश्चिममा परासन, उत्तरमा पुनर्वास नगरपालिका–१० विकास बस्ती र दक्षिणमा बीचफाटा पर्ने इलाकामा भारतबाट नेपालतर्फ आउँदै गरेको संदिग्ध डल्लव रोकेको थियो । सो क्रममा दुईवटा राँगाले तानेको डल्लवमा लोड गरिएको ९ गोलिया (करिब ७६ क्युफिट) काठ फेला परेको हो । बरामद गरिएको काठ वनजन्य अपराध नियन्त्रणका दृष्टिकोणले संवेदनशील मानिन्छ ।
रातको १० बजेको समयमा भएको उक्त अपरेसनका क्रममा तस्करहरू भने फरार हुन सफल भएको बुझिएको छ । बरामद गरिएका दुईवटा राँगा, एउटा डल्लव र ७६ क्युफिट काठलाई आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि सब–डिभिजन वन कार्यालय, कुण्डामा बुझाइएको सशस्त्र प्रहरी बल बिओपी दोदाले जानकारी दिएको छ ।
खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले रातको समयमा वन पैदावार तथा चौपायाको अवैध ओसारपसार गर्ने गरेकाले सशस्त्र प्रहरीले यस क्षेत्रमा निगरानी र गस्तीलाई तीव्रता दिएको छ । बरामद सामग्रीको बजार मूल्य र तस्करहरूको पहिचानबारे वन कार्यालयले थप अनुसन्धान अघि बढाउने जनाइएको छ ।





