कञ्चन आवाज संवाददाता
बेलौरी, कञ्चनपुर
कञ्चनपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा हुने निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूविरुद्ध कुनै पनि दाबी विरोध परेको छैन। निर्वाचन अधिकृतको कार्यालय बेलौरीका अनुसार बुधबार तोकिएको समयसीमाभित्र १९ जना उम्मेदवारमध्ये कसैको विरुद्ध पनि उजुरी वा दाबी विरोध दर्ता नभएको हो।
निर्वाचन कार्यतालिका अनुसार बुधबार (माघ ७ गते) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने समय निर्धारण गरिएको थियो। तर, उक्त समयभित्र कार्यालयमा कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको छ। मंगलबार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल १९ जनाले उत्साहपूर्ण रूपमा मनोनयन दर्ता गराएका थिए। दाबी विरोध नपरेसँगै निर्वाचन प्रक्रिया थप सहज र सौहार्दपूर्ण रूपमा अघि बढेको छ।
अब निर्वाचन आयोगको पूर्व–निर्धारित कार्यतालिका बमोजिम उम्मेदवारको नामावली र मनोनयन पत्र उपर जाँचबुझ प्रक्रिया सुरु हुनेछ। उजुरी नपरेका कारण यो प्रक्रिया स्वतः सहज बनेको छ। कार्यतालिका अनुसार भोलि (माघ ८ गते) साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
त्यस्तै, उम्मेदवारले नाम फिर्ता लिन चाहेमा माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। दाबी विरोध शून्य भएसँगै कञ्चनपुर–१ को चुनावी माहोल अब पूर्ण रूपमा प्रचारप्रसार र जनभेटघाटमा केन्द्रित हुने देखिएको छ।





