कञ्चनपुर
आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुर जिल्लामा सुरक्षा तथा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको पछिल्लो सुरक्षा विश्लेषण अनुसार जिल्लाका आधाजसो मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ भने सुरक्षा जनशक्तिका लागि तोकिएको कोटाभन्दा बढी आवेदन परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा गरी कुल १३२ मतदान स्थल कायम गरिएको छ। सुरक्षा चुनौतीको विश्लेषण गर्दै तीमध्ये ६६ वटा मतदान स्थललाई ‘अति संवेदनशील’, ४० वटालाई ‘संवेदनशील’ र २६ वटालाई ‘सामान्य’ वर्गीकरण गरिएको छ। त्यस्तै, ३६० मतदान केन्द्रमध्ये १९२ वटा केन्द्र अति संवेदनशील, ११९ संवेदनशील र ४९ वटा सामान्य अवस्थामा रहेको पाइएको छ। खुल्ला सिमाना र विगतका सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले अति संवेदनशील क्षेत्रमा विशेष निगरानी बढाउने रणनीति अख्तियार गरेको छ।
यस पटकको निर्वाचनमा जिल्लामा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी देखिएको छ। कुल ३ लाख १४ हजार ३ सय ८५ मतदातामध्ये महिला मतदाताको सङ्ख्या १ लाख ६० हजार ३ सय १६ रहेको छ भने पुरुष मतदाता १ लाख ५४ हजार ६८ जना रहेका छन्। १ जना अन्य मतदाता रहेका छन्। महिला मतदाताको यो बाहुल्यताले निर्वाचनको नतिजामा समेत अर्थपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक पर्ने ‘निर्वाचन प्रहरी’ भर्ना प्रक्रियामा पनि उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन प्रहरीतर्फ २०३५ र सशस्त्र प्रहरीतर्फ २९२ जनाको स्वीकृत कोटा रहेकोमा माघ १ गतेसम्म मात्रै कुल ३१०० जनाको आवेदन परिसकेको छ। जसमा नेपाल प्रहरीतर्फ २९०६ (पुरुष १६८७, महिला १२१९) र सशस्त्र प्रहरीतर्फ १९४ (पुरुष १०१, महिला ९३) जनाले आवेदन फारम दर्ता गराएका छन्।





