बेलौरी, कञ्चनपुर
प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ठ्याक्कै ४१ दिन बाँकी रहँदा आज (शुक्रबार) उम्मेदवारहरूलाई औपचारिक रूपमा चुनाव चिह्न प्रदान गरिँदैछ। निर्वाचन आयोगको कार्यतालिका अनुसार, उम्मेदवारी फिर्ता लिने समय सकिएलगत्तै अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ।
निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार, आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ। सो अवधिमा उम्मेदवारी फिर्ता नलिएका र कायम रहेका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेर चिह्न वितरण प्रक्रिया अघि बढाइने छ।
चुनाव चिह्न हातमा लिएर जनताको घरदैलोमा जान उम्मेदवारहरू तम्तयार अवस्थामा रहेकाले अबको ४१ दिन कञ्चनपुरको राजनीति र चिया पसलका गफहरू चुनावकै वरिपरि घुम्ने देखिन्छ।






