कञ्चन आवाज संवाददाता, बेलौरी (कञ्चनपुर), ०९ माघ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दिएका सबै १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा कायम रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले तोकिएको समयसीमाभित्र कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि अन्तिम नामावली प्रकाशन गर्दै आज उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख दलहरूले आफ्ना परम्परागत चिन्ह लिएर प्रतिस्पर्धा गर्ने छन भने साना दल र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन आयोगले निर्धारण गरेको सूचीबाट चिन्ह प्राप्त गरेका छन् ।
संसदीय राजनीतिका ठूला दलहरू आ–आफ्नै परिचित चुनाव चिन्ह लिएर मैदानमा उत्रिने छन् ।
नेपाली कम्युनिष्ट पार्टीका बिना मगरको ‘पाचकुने तारा’ चिन्ह।
नेपाली कांग्रेसका उम्मेदवार गोपी प्रसाद उपाध्यायको ‘रुख’ चिन्ह
नेकपा (एमाले) का तारा लामा तामाङ ‘सूर्य’ चिन्ह ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनक सिंह धामी ‘घण्टी’ चिन्ह ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डिल्ली बहादुर शाही ‘हलो’ चिन्ह ।
नागरिक उन्मुक्ति पार्टीका कृष्ण बहादुर चौधरीले‘चकिया (जाँतो)’ चिन्हमा भोट माग्नेछन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का कटक बहादुर शाहीले ‘मादल’ चिन्हमा भोट माग्नेछन् भने राष्ट्रिय जनमोर्चाका राजा राम डगौरा चौधरीले ‘गिलास’ चिन्ह लिएर चुनावी मैदानमा छन् ।
त्यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका हुम बहादुर गुरुङ्गलाई ‘कुखुराको भाले’, संयुक्त नागरिक पार्टीका दानियल बि.क.लाई ‘गितार’ र आम जनता पार्टीकी सीता वि.क.लाई ‘मोबाइल’ चिन्ह प्रदान गरिएको छ । उज्यालो नेपाल पार्टीका माइकल तामाङले ‘बलिरहेको बिजुलीको चिम’, मितेरी पार्टी नेपालका सिया राम रानाले ‘घोडा’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका देपेन्द्र बहादुर शाहीले ‘खुलेको एकल आँखा’ चिन्ह लिएर प्रतिस्पर्धा गर्ने छन्।
‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी)’ का पुरन राना थारुले ‘गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल’ चिन्ह लिएर प्रतिस्पर्धा गर्ने छन्।
दलगत उम्मेदवार बाहेक स्वतन्त्र रूपमा उठेका उम्मेदवारहरूले पनि आजै चुनाव चिन्ह पाएका छन् ।
-
अनिल राना (स्वतन्त्र) : क्यामरा
-
मन्जु देवी सुनार (स्वतन्त्र) : तिलहरी
-
यादव सिंह (स्वतन्त्र) : झोला
-
रुपा देवी विष्ट (स्वतन्त्र) : चेसगोटी
निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको सूचना अनुसार आज चुनाव चिन्ह वितरण गरिएको हो । सबै उम्मेदवारको र चुनाव चिन्हको टुंगो लागेसँगै कञ्चनपुरको दक्षिणी भेग (बेलौरी, पुनर्वास, लालझाडी, बेलडाँडी) मा चुनावी सरगर्मी बढेको हो।







