राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिमसहित सातै प्रदेशमा तयारी पूरा, आइतबार मतदान

बेलौरी, कञ्चनपुर । निर्वाचन आयोगले आगामी आइतबार (माघ ११ गते) हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ । मुलुकको सङ्घीय संसदको माथिल्लो सदन मानिने राष्ट्रिय सभाका रिक्त सदस्य पदपूर्तिका लागि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीसहित सातै प्रदेशका तोकिएका केन्द्रहरूमा एकसाथ मतदान हुँदैछ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत मतदानका लागि प्राविधिक र लजिस्टिक व्यवस्थापनको काम सकिएको जानकारी दिएका हुन् । निर्वाचनका लागि आवश्यक मतपत्र र निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता, दाबी–विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरणको कार्य यसअघि नै सम्पन्न भइसकेको आयोगले स्पष्ट पारेको छ ।

आगामी आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने यस निर्वाचनमा कुल १८ रिक्त पदका लागि मतदान हुने तय भए पनि नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका कारण अब १७ पदका लागि मात्रै प्रतिस्पर्धा हुनेछ । मतदानमा प्रदेश सभाका सदस्यहरू तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूले भाग लिने कानुनी व्यवस्था छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिन राजीनामा दिएका केही प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीहरूको नाम भने मतदाता नामावलीबाट हटाइएको छ ।

राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण प्रभाव राख्ने यो निर्वाचनले राष्ट्रिय सभाको आगामी समीकरण तय गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ