धनगढी
राष्ट्रियसभाका रिक्त सदस्य पदको पूर्तिका लागि सुदूरपश्चिमसहित सातै प्रदेशमा आज (आइतबार) मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएका मतदान केन्द्रहरूमा मतदानको व्यवस्था मिलाइएको छ।
फागुन २० गतेदेखि रिक्त हुन लागेका कुल १८ पदमध्ये कोशी प्रदेशमा एक पद निर्विरोध भइसकेको छ भने बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हो। कोशी प्रदेशबाट अन्य समूह (खस आर्य) तर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बाँकी १७ पदमा प्रतिस्पर्धा हुनेछ, जसका लागि सातै प्रदेशमा मतदानस्थल र केन्द्र तोकिएका छन्।
सुदूरपश्चिम प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढीमा मतदान केन्द्र तोकिएको छ। यहाँ प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन्। निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
आयोगका अनुसार अन्य प्रदेशमा निम्न स्थानहरूमा मतदान हुँदैछ:
-
कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर, मोरङ।
-
मधेस प्रदेश: महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा।
-
बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा, मकवानपुर।
-
गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा, कास्की।
-
लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ।
-
कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ।





