बेलौरी, कञ्चनपुर
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० स्थित सडकघाट क्षेत्रबाट ईलाका प्रहरी कार्यालय बेलडाँडीको टोलीले दुई छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित ६ जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा दुईवटा सवारी साधन र करिब ३० ग्राम प्रतिबन्धित लागुऔषध बरामद गरेको हो।
पहिलो घटनामा, चैत्र ६ गते बेलडाँडीबाट खटिएको प्रहरी टोलीले सडकघाटमा चेकजाँच गर्ने क्रममा प्रदेश ०२००१ ज ६३० नम्बरको विद्युतीय हाइस गाडीलाई रोकेको थियो। उक्त गाडीका चालक कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मालाखेती बस्ने सुरेन्द्र साउदसहित ४ जनालाई शंका लागेर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको १५ ग्राम १६० मिलिग्राम शुद्ध तौल भएको खैरो हेरोइन फेला परेको छ।
दोस्रो कारबाहीमा, सोही दिन बेलडाँडी र प्रहरी चौकी भुडाको संयुक्त टोलीले से ७ प २०९९ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गरेको थियो। मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्बर ५ बागबजार बस्ने सन्जु मल्ल र पछाडि सवार ऐरी १ मालु बस्ने यादव तमौलीको साथबाट १४ ग्राम ७२० मिलिग्राम लागुऔषध बरामद भएको छ।
पक्राउ परेका सबै ६ जनालाई नियन्त्रणमा लिई लागुऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।





