बेलौरी, कञ्चनपुर।
कञ्चनपुरको बेलौरी नगरपालिका ६ वैशाखास्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा शनिबार दिउँसो करिब ३ बजेको समयमा खटिएको सुरक्षा टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका ती युवकहरूलाई जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित लागुऔषध फेला पारेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर कञ्चनपुर मातहतको सीमा सुरक्षा गुल्म बेलौरीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) योग्य बस्नेतका अनुसार पक्राउ पर्नेहरूमा कञ्चनपुरको पुनर्वास नगरपालिका १ ढक्का बुटावारी बस्ने २४ वर्षीय सिकन्दर राना र सोही स्थानका २४ वर्षीय रामपाल राना रहेका छन्। उनीहरू से ६ प ७७७२ नम्बरको मोटरसाइकलमा सवार भएर सीमा पार गर्दै गर्दा सुरक्षाकर्मीको फन्दामा परेका हुन्।
सशस्त्र प्रहरी सहायक निरीक्षक उद्बब बहादुर चन्दको कमाण्डमा खटिएको ५ जना र इलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोसाकमा खटिएका प्रहरी सहायक हबल्दार दल बहादुर महरा नेतृत्वको २ जनाको संयुक्त टोलीले उनीहरूलाई वैशाखा इलाकामा रोकेर खानतलासी गरेको थियो। सो क्रममा मोटरसाइकल चालक सिकन्दर रानाको पाइन्टको गोजीमा लुकाइराखेको अवस्थामा करिब दुई ग्राम ब्राउन सुगर फेला परेको डिएसपी बस्नेतले जानकारी दिनुभयो।पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी र सक्रियता बढाएको छ।





