कञ्चनपुरमा सेवाग्राहीलाई सास्ती दिने सात जना पक्राउ

महेन्द्रनगर, कञ्चनपुर

जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित विभिन्न सरकारी कार्यालयमा पुग्ने सेवाग्राहीलाई अनावश्यक हैरानी र सास्ती दिएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन, यातायात र मालपोत कार्यालयको गेट अगाडि सेवाग्राहीलाई तानातान गरी दुःख दिइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार दिउँसो करिब २ बजे जिल्ला प्रशासन कार्यालयको गेट अगाडिबाट चार जनालाई नियन्त्रणमा लिइएको थियो। पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका वडा नं. ५ धरमपुर बस्ने सालम बोगटी, दिल बि.क. र सागर घरेडी रहेका छन्। उनीहरू स्थानीय देव अनलाइन सेन्टरमा कार्यरत रहेको खुलेको छ। सोही स्थानका दीपेन्द्र कुमार बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ, जो हाम्रो अनलाइन पसलमा कार्यरत थिए।

यसैगरी, दिउँसो साढे ३ बजेको समयमा यातायात व्यवस्था कार्यालयको गेट अगाडिबाट दुई जना र मालपोत कार्यालयको गेट अगाडिबाट एक जना गरी थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यातायात कार्यालय अगाडिबाट पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका वडा नं. ६ का कपिल जोशी र भीमदत्त नगरपालिका वडा नं. १८ का हिमांशु चन्द रहेका छन्। उनीहरू शालिग्राम अनलाइन सेवामा कार्यरत रहेको प्रहरीले जनाएको छ। त्यस्तै, भीमदत्त नगरपालिका वडा नं. ५ बस्ने कैलाश सुनारलाई मालपोत कार्यालय अगाडिबाट नियन्त्रणमा लिइएको हो।

सरकारी कार्यालयहरूमा कामको सिलसिलामा आउने सर्वसाधारणलाई विभिन्न अनलाइन सेन्टरका कर्मचारीहरूले बाटोमै रोकेर तानातान गर्ने र कार्य सम्पादनमा बाधा पुर्‍याउने गरेको जनगुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो। नियन्त्रणमा लिइएका सातै जनामाथि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ