सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसको अवसरमा पुनर्वासमा वृहत् स्वास्थ्य शिविर: ७६९ नागरिक लाभान्वित

पुनर्वास, कञ्चनपुर।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीले आफ्नो २५औँ स्थापना दिवस अर्थात् रजत महोत्सवको अवसरमा कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वास नगरपालिका वडा नं. ९, विचफाँटामा एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न गरेको छ। स्थानीय वडा कार्यालयको प्राङ्गणमा आयोजित उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउन सीमा क्षेत्रका विपन्न तथा पहुँचविहीन नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

शिविरमा कुल ७६९ जना बिरामीहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य लाभ लिएका छन्, जसमा ४८१ महिला र २८८ पुरुष रहेका छन्। उपचारका क्रममा ४८५ जनाले आँखा सम्बन्धी सेवा लिएका थिए भने ७२ जनाले स्त्री रोग (गाइनो), १३२ जनाले दाँत (डेन्टल) र ८० जनाले अन्य विविध रोगहरूको परीक्षण गराएका थिए। आँखा सम्बन्धी समस्या लिएर आउनेमा २९४ महिला र १९१ पुरुष रहेका थिए भने स्त्री रोग तर्फ ६२ महिला र १० पुरुष, दाँत तर्फ ७५ महिला र ५७ पुरुष तथा अन्य रोगका लागि ५० महिला र ३० पुरुषले सेवा लिएका थिए। माया मेट्रो हस्पिटल, धनगढी नेत्रालय तथा अन्यको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा बिरामीहरूलाई स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको थियो।

शिविरको सम्बोधनका क्रममा सशस्त्र प्रहरी बलका निमित्त बाहिनीपति दिगविजय सुवेदीले संगठनको मुख्य उद्देश्य सीमा सुरक्षा मात्र नभई सीमामा बस्ने नागरिकको सुख-दुःखमा साथ दिनु पनि रहेको स्पष्ट पार्नुभयो। उहाँले संगठन प्रमुखको भावनालाई उद्धृत गर्दै सीमामा बस्ने नागरिकहरू स्वस्थ र सुरक्षित नभएसम्म देशको सीमा सुरक्षा पूर्ण हुन नसक्ने बताउनुभयो। निमित्त बाहिनीपति सुवेदीले आगामी दिनमा पनि सशस्त्र प्रहरी बल आगलागी, बाढी र डुबानजस्ता प्राकृतिक विपद्का समयमा अग्रपंक्तिमा रहेर नागरिकको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि एवं पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले सशस्त्र प्रहरीले आफ्नो स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाएकोमा आभार व्यक्त गर्नुभयो। नगर प्रमुख शर्माले विकट र अस्पतालको पहुँचभन्दा टाढा रहेका विचफाँटा जस्ता क्षेत्रका नागरिकको घरदैलोमै पुगेर विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो। उहाँले यस्ता मानवीय सेवाका कार्यले सुरक्षा निकाय र आम नागरिकबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास समेत व्यक्त गर्नुभयो। शिविरमा सशस्त्र प्रहरी बलका अन्य वरिष्ठ अधिकृतहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी र सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ