बेलौरीमा भन्सार छलीको विद्युतीय स्कुटरसहित भारतीय नागरिक पक्राउ

बेलौरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरीमा भन्सार राजस्व छली गरी अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको एक थान नयाँ विद्युतीय स्कुटरसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।  इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले  सीमावर्ती क्षेत्रबाट उक्त सवारी साधन बरामद गरेको हो।

प्रहरीका अनुसार बिहीबार राति करिब साढे ८ बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित बैशाखाबाट भारतको उत्तर प्रदेश, पिलिभित जिल्ला निवासी अन्दाजी २७ वर्षीय रियाज अन्सारीलाई नियन्त्रणमा लिइएको हो। अन्सारीले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी र भन्सार महसुल नतिरी उक्त स्कुटर नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले फेला पारेको थियो। बरामद गरिएको उक्त विद्युतीय स्कुटरको बजार मूल्य करिब एक लाख ७५ हजार रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पछिल्लो समय विद्युतीय सवारी साधनलाई दर्ता र भन्सार प्रक्रिया विनै सामान्य साधनका रूपमा भित्र्याउने प्रवृत्ति बढेकाले सीमा क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ। कुनै पनि प्रकारका सवारी साधन आधिकारिक दर्ता र नम्बर प्लेट बिना राष्ट्रिय सीमाभित्र भित्र्याउनु गैरकानुनी कार्य भएको भन्दै बरामद स्कुटर र पक्राउ परेका अन्सारीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि आज शुक्रबार कैलालीको त्रिनगर भन्सार कार्यालय चलान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ