सशस्त्र प्रहरीद्वारा कञ्चनपुरका दुई स्थानबाट करिब सवा तीन लाखको अवैध सामान बरामद

बेलौरी, कञ्चनपुर, ०९ वैशाख।

कञ्चनपुरको बेलडाँडी र बेलौरीका सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामग्रीहरू बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक योग्य बस्नेतका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका झण्डै ३ लाख १२ हजार १ सय रुपैयाँ बराबरका सामानहरू नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपाल बीओपी झिलमिलाबाट सशस्त्र प्रहरी नायब निरीक्षक बर्त घर्ती मगरको कमाण्डमा खटिएको पाँच सदस्यीय पैदल गस्ती टोलीले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ स्थित राधाकृष्ण मन्दिर इलाकाबाट १ लाख ७५ हजार रुपैयाँ बराबरको सामान फेला पारेको छ। बेवारिसे अवस्थामा रहेको भारतीय नम्बरको एक थान मोटरसाइकल, एक थान एलइडी टेलिभिजन र एक थान कुलर बरामद गरी आवश्यक कारबाहीका लागि महेन्द्रनगरस्थित गड्डाचौकी भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो।

यसैगरी, बेलौरी नगरपालिका वडा नम्बर १ फटिया सीमा इलाकाबाट पनि ठूलो परिमाणमा तस्करीका सामानहरू नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बल नेपाल बीओपी आपतालबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहराको नेतृत्वमा खटिएको टोलीले १ लाख ३७ हजार १०० रुपैयाँ बराबरका सामग्री बरामद गरेको हो। भारतबाट लुकाइछिपाई ल्याइएका सिलाई मेसिन, भान्छामा प्रयोग हुने भाँडाकुँडा र विभिन्न सुर्तीजन्य पदार्थहरू बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। ती सामग्रीहरूलाई थप कानुनी प्रक्रियाका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ