भारतबाट १ सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार अनिवार्य गर्ने निर्णयको कैलाली उद्योग वाणिज्य संघद्वारा स्वागत

धनगढी/कैलाली

नेपाल सरकारले भारतबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान आयात गर्दा भन्सार प्रक्रिया अनिवार्य गर्ने गरी ल्याएको पछिल्लो व्यवस्थाको कैलाली उद्योग वाणिज्य संघले स्वागत र समर्थन गरेको छ। संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई सकारात्मक र समयसापेक्ष निर्णयका रूपमा चित्रण गरेको हो।

जारी विज्ञप्तिमा भनिएको छ कि यो व्यवस्थाले स्वदेशी उद्योग, व्यापार र राजस्व प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने छ। भन्सार प्रक्रिया अनिवार्य गरिँदा व्यापार प्रणाली व्यवस्थित हुने, अवैध आयात नियन्त्रण हुने र अन्ततः राष्ट्रिय अर्थतन्त्र मजबुत हुने विश्वास संघले लिएको छ। संघले आम उपभोक्ता, सर्वसाधारण तथा व्यवसायीहरूलाई उक्त नियमको पूर्ण रूपमा पालना गर्न हार्दिक अपिल समेत गरेको छ।

स्वदेशमै सामान खरिद गर्दा अर्थतन्त्र चलायमान हुनुका साथै रोजगारी र राजस्व वृद्धिमा सहयोग पुग्ने तथ्यलाई मनन गर्न संघले सरोकारवालाहरूलाई आह्वान गरेको छ। सरकारको यो निर्णय मात्र दिगो समाधानका लागि पर्याप्त नभएको उल्लेख गर्दै संघले दैनिक उपभोग्य वस्तुमा परनिर्भरता न्यूनिकरण गर्न स्वदेशमै उत्पादनमूलक वातावरण सिर्जना गर्न र लगानीको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराएको छ। स्वदेशी स्रोत र साधनको अधिकतम प्रयोग गरी उत्पादकत्व बढाउन सके मात्र स्वदेशी उत्पादन सस्तो हुने र युवा जनशक्ति पलायन हुनबाट रोकिने संघको ठहर छ।

उपभोक्ताको विश्वास कायम राख्न पारदर्शी र जिम्मेवार व्यापारिक अभ्यासको खाँचो रहेको औंल्याउँदै संघले व्यवसायीहरूलाई गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउन आग्रह गरेको छ। कैलाली जिल्लाको लामो क्षेत्र भारतसँग जोडिएको हुनाले भन्सार नाकामा मात्र नभई खुला सिमानाबाट हुने चोरी निकासी र अवैध कारोबार नियन्त्रण गर्न सरकारले थप प्रभावकारी कदम चाल्नुपर्नेमा संघले जोड दिएको छ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस कदमबाट सरकार, व्यवसायी र उपभोक्ता तीनै पक्षलाई दीर्घकालीन लाभ पुग्ने आशा व्यक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ