पुनर्वास, कञ्चनपुर।
कञ्चनपुरको पुनर्वास नगरपालिका ४ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको बोइलर कुखुरा र चिसो पेय पदार्थ बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बिओपी आपतालबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहराको कमान्डमा खटिएको टोलीले आइतबार बिहान करिब ८ बजे सीमा क्षेत्रका विभिन्न स्थानबाट ती सामग्रीहरू नियन्त्रणमा लिएको हो।
विशेष सूचना र नियमित गस्तीका क्रममा भारतबाट लुकाइछिपाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती मालसामान बरामद गरिएको प्रहरीले जनाएको छ। बिओपी आपतालका इन्चार्ज निरीक्षक बोहराका अनुसार बरामद गरिएका सामग्रीहरूमा ९० किलो बोइलर कुखुरा र ११० लिटर चिसो पेय पदार्थ रहेका छन्।

बरामद गरिएको कुखुराको बजार मूल्य करिब २७ हजार र पेय पदार्थको मूल्य करिब ११ हजार गरी जम्मा ३८ हजार रुपैयाँ बराबरको अवैध मालसामान नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका सम्पूर्ण सामग्रीहरूलाई आइतबार नै स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रोहबरमा मुचुल्का तयार गरी खाडलमा पुरेर नष्ट गरिएको छ। सीमा क्षेत्रमा हुने चोरी पैठारी र अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै पछिल्लो समय तस्करीका सामग्रीहरू बरामद हुने क्रममा वृद्धि भएको छ।





