बेलौरी:किसान बहुउद्देश्यीय सहकारीद्वारा ७ लाख १२ हजार बढीको मृत्यु राहत तथा कर्जा मिनाहा

कञ्चन आवाज संवाददाता, बेलौरी (कञ्चनपुर) । १५ वैशाख

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ स्थित दिनापुर गाउँमा मंगलबार एक विशेष श्रद्धाञ्जली सभा तथा आर्थिक राहत वितरण कार्यक्रम सम्पन्न भएको छ।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेलौरी शाखाले आफ्ना दिवंगत सदस्यको परिवारलाई ७ लाख १२ हजार ४१७ रुपैयाँ बराबरको ठूलो राशिको राहत रकम हस्तान्तरण गरेको हो। विसं २०४३ साल चैत २४ गते जन्मनुभएका राम किसन चौधरीको ४० वर्षको उमेरमा गत २०८२ साल फागुन ३० गते असामयिक निधन भएको थियो। सहकारीले उहाँकी धर्मपत्नी एवं संस्थाकी शेयर सदस्य राज कुमारी चौधरीको आफ्नै निवासमा पुगेर सो रकमको चेक हस्तान्तरण गरेको छ।

कार्यक्रमका सभाध्यक्ष एवं सहकारीका शुक्लाफाँटा इलाका प्रमुख जय शंकर न्यौपानेले संस्थाको मर्म र उद्देश्यमाथि प्रकाश पार्दै जन्मदेखि मरणोपरान्तसम्म किसान बहुउद्देश्यीय सहकारी संस्था समुदाय सँगसँगै भन्ने नारालाई व्यवहारमा उतारिएको बताउनुभयो। उहाँले राज कुमारी चौधरीले संस्थाबाट दुई पटक गरी ७ लाख रुपैयाँ कर्जा लिएकोमा पहिलो पटकको ३ लाख चुक्ता भइसकेको र दोस्रो पटकको ४ लाखमध्ये बाँकी रहेको सावाँ ३ लाख ८३ हजार ३३२ र ब्याज ८ हजार ८३५ गरी जम्मा ३ लाख ९२ हजार २०० रुपैयाँ कर्जा पूर्ण रूपमा मिनाहा गरिएको जानकारी दिनुभयो। बाँकी रकम काजकिरिया खर्च र नगद राहतका रूपमा प्रदान गरिएको हो। न्यौपानेले संस्थाले मातृ शिशु प्रोत्साहनका लागि १५ सय, विद्यार्थीका लागि ५ हजार छात्रवृत्ति, एमबीबीएस पढ्नेलाई १० हजार र घातक रोगको उपचारका लागि ५० हजारसम्म सहयोग गर्दै आएको फेहरिस्त पनि प्रस्तुत गर्नुभयो।

प्रमुख अतिथिको आसनबाट बोल्दै बेलौरी नगरपालिका वडा नम्बर २ का वडा सदस्य विक्रम चौधरीले दिवंगत चौधरीलाई गाउँको छोराका रूपमा स्मरण गर्दै यस्तो दुखद घडीमा सहकारीले देखाएको मानवीय भावनाको प्रशंसा गर्नुभयो। उहाँले परिवारमा अभिभावक गुमाउँदाको पीडा सँगसँगै ऋणको ठूलो भार थपिने अवस्थामा ७ लाखभन्दा बढीको यो राहतले परिवारलाई ठूलो सान्त्वना र जीवन जिउने नयाँ आधार दिएको बताउनुभयो।

त्यस्तै कार्यक्रममा केन्द्र नम्बर ७९ की प्रमुख एवं सदस्य सविना सुनारले मृत्युलाई अकाट्य सत्यका रूपमा स्वीकार्दै पीडामा परेको परिवारलाई मलम लगाउने कार्यमा सबै शेयर सदस्यहरू एकजुट भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले स्व. चौधरी एक मिलनसार र असल व्यक्ति भएको उल्लेख गर्दै सहकारीको यो सहयोगले समुदायमा सकारात्मक सन्देश दिएको बताउनुभयो।

कार्यक्रमको उद्घोषण गर्दै बेलौरी शाखा प्रमुख सुरेश चौधरीले सहकारीले हाल १२ वटा विभिन्न शीर्षकमा कर्जा लगानी गरिरहेको जानकारी दिनुभयो। उहाँले किसान सरल कर्जा मार्फत १३.९९ प्रतिशत ब्याजदरमा बिना धितो ५ लाखसम्म ऋण प्रवाह गरी सदस्यहरूलाई कृषि, व्यापार र वैदेशिक रोजगारीका क्षेत्रमा सबल बनाउन संस्था क्रियाशील रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा सहकारीका फिल्ड स्टाफ शनिदेव राना, स्थानीय समाजसेवी, भद्रभलादमी तथा विभिन्न केन्द्रका शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

शोकमा डुबेको चौधरी परिवारलाई दिइएको यो प्रभावकारी सहयोगले बेलौरी क्षेत्रमा सहकारिता प्रतिको विश्वासलाई थप उचाइमा पुर्याएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ