बेलौरी, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । बिहीबार बिहान सीमा क्षेत्रबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका किराना तथा सुर्तिजन्य सामग्रीहरू सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर बेलौरीका अनुसार नगरपालिकाको वडा नम्बर ६ स्थित नकैया सीमा इलाकामा बेवारिसे अवस्थामा रहेका ती सामान फेला पारिएको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले बिहान करिब ५ बजेको समयमा उक्त बरामद गरेको जानकारी प्राप्त भएको छ ।
बरामद गरिएका सामानहरूको कुल बजार मूल्य २ लाख २३ हजार ४ सय रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । जसमा विभिन्न किसिमका किराना सामान र सुर्तिजन्य पदार्थहरू रहेका छन् । भारतबाट अवैधानिक मार्ग हुँदै भन्सार छली ल्याइएका यी सामग्रीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।





