कञ्चनपुरको बेलौरी सीमा क्षेत्रबाट साढे छ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० स्थित नेपाल भारत सीमा क्षेत्र सडकघाटबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले साढे छ ग्राम लागुऔषध (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ।

आज वैशाख १७ गते बिहीबार दिउँसो करिब साढे दुई बजेको समयमा सीमा क्षेत्रमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ८४४३ नम्बरको अटो रिक्सामा शङ्का लागेर जाँच गर्दा उनीहरु पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बल नेपाल बिओपी भुडाका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर घिमिरे र प्रहरी चौकी भुडाका प्रहरी वरिष्ठ हवल्दार कृष्णराज जोशीको कमान्डमा खटिएको संयुक्त टोलीले उक्त अटोमा खानतलासी गरेको थियो।

बेलौरी सीमा सुरक्षा गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतका अनुसार पक्राउ पर्नेहरुमा अटो चालक बेलडाँडी गाउँपालिका वडा नम्बर २ सिंहपाल टोलका ४७ वर्षीय करन ओखेडा, बेदकोट नगरपालिका वडा नम्बर ८ भासीका १८ वर्षीय ललित सेट्टी, सोही ठाउँका १९ वर्षीय अशोक डगौरा र उनकी श्रीमती १८ वर्षीया ममता सार्की रहेका छन्। उनीहरुले अटोको पछाडिको सिटमा कालो प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा उक्त खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी भुडामा बुझाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ