कञ्चनपुर।
कञ्चनपुरको वेदकोट नगरपालिका ५ मा एक नाबालकलाई डोरीले हातखुट्टा बाँधेर अमानवीय ढंगले कुटपिट गरेको अभियोगमा प्रहरीले एक स्थानीय व्यक्तिलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा कानुनी प्रक्रिया अगाडि बढाएको छ। गत वैशाख १६ गते बिहान साढे ९ बजेको समयमा छिमेकीको तरकारी बारीमा क्रिकेट बल खोज्न गएका ११ वर्षीय लोकेश भन्ने राजेश भण्डारीलाई सोही स्थानका ३७ वर्षीय भोज नाथले नियन्त्रणमा लिई डोरीले बाँधेर निर्घात कुटपिट गरेका हुन्।
वेदकोट नगरपालिका ५ स्थित चौधर नदीको पूर्वी किनारमा रहेको तरकारी बारीमा छिरेको निहुँमा बालकमाथि कुटपिट भइरहेको देखेपछि स्थानीय बासिन्दाले तत्कालै उनको उद्धार गरेका थिए। स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले आरोपित नाथलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। बालकको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्थालाई मध्यनजर गर्दै तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो।
यस घटनाका सम्बन्धमा पीडित बालककी मावली हजुरआमा नन्दा मेहताले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वैशाख १७ गते आरोपित भोज नाथविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका नाथलाई जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ र घटनाको सम्बन्धमा थप विस्तृत अनुसन्धान भइरहेको छ।
उपचार पश्चात् पीडित बालकको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। कञ्चनपुर प्रहरीले नाबालकमाथि हुने यस्ता संवेदनशील र फौजदारी प्रकृतिका घटनामा शून्य सहनशीलता अपनाउँदै कानुनी कारबाहीलाई कडाइका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।





