प्रतिनिधि सभा सदस्य धामी र प्रमुख जिल्ला अधिकारी कोइरालाको टोलीद्वारा बेलौरी छोटी भन्सारको अनुगमन

बेलौरी, कञ्चनपुर।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य जनक सिंह धामी र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला सहितको उच्च स्तरीय टोलीले बेलौरीस्थित छोटी भन्सार कार्यालयको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। सीमा क्षेत्रको वस्तुस्थिति, भन्सारको भौतिक पूर्वाधार र राजस्व संकलनको अवस्थाबारे जानकारी लिन शुक्रबार यो टोलीले भन्सार कार्यालयको भ्रमण गरेको हो। अनुगमन टोलीमा प्रतिनिधि सभा सदस्य धामी र प्रमुख जिल्ला अधिकारी कोइरालाका साथै कञ्चनपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्री, राष्ट्रिय अनुसन्धान विभाग कञ्चनपुर जिल्ला प्रमुख , कञ्चनपुर भन्सार कार्यालय प्रमुख, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी बेलौरी नगर कमिटी सभापति विष्णु शर्मा न्यौपाने र सामाजिक अभियन्ताहरू केशव राज जोशी तथा धर्मेन्द्र गिरी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले स्थानीयको वर्षौँदेखिको माग र प्रशासनिक सुगमतालाई मध्यनजर गर्दै हाल कैलाली भन्सार मातहत रहेको बेलौरी छोटी भन्सारलाई कञ्चनपुर मातहत ल्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्सारको स्तरोन्नतिका लागि गृह मन्त्रालय र सम्बन्धित विभागहरूमा समन्वय गरी प्रक्रिया अगाडि बढाउने र यस क्षेत्रको प्रशासनिक पहुँचलाई थप प्रभावकारी बनाउने बताउनुभयो।

त्यस्तै, प्रतिनिधि सभा सदस्य जनक सिंह धामीले बेलौरी नाका सुदूरपश्चिमकै ऐतिहासिक र पुरानो व्यापारिक केन्द्र भएको उल्लेख गर्दै यसको विकासले समग्र क्षेत्रको आर्थिकस्तर उकास्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्सारको स्तरोन्नतिका लागि सरकारी स्तरमा भएका प्रयास र कानुनी अड्चनहरूको अध्ययन गरी आफूले संसद् र सरकारका सम्बन्धित निकायमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो। टोलीमा सहभागी सुरक्षा प्रमुखहरूले सीमा सुरक्षा र अवैध कारोबार नियन्त्रणका लागि भन्सारको भौतिक पूर्वाधार सुधार हुनुपर्नेमा जोड दिएका थिए भने राजनीतिक तथा सामाजिक अभियन्ताहरूले बेलौरीको आर्थिक विकासका लागि यो नाकालाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराएका थिए। यो अनुगमनले बेलौरी नाकाको स्तरोन्नति र व्यवस्थापनमा ठोस उपलब्धि हुनेमा स्थानीयले आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ