बेलौरी, कञ्चनपुर ।
कैलालीको धनगढीमा सम्पन्न विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘एसपिए जुनियर प्राइड लिग २०८३’ को उपाधि कञ्चनपुरको बेलौरीस्थित वात्सल्य विद्या निकेतनले चुमेको छ। फाइनल खेलमा धनगढीको चैतन्य पाठशालालाई ६९ रनको फराकिलो अन्तरले पराजित गर्दै वात्सल्यले लगातार पाँचौँ जितका साथ च्याम्पियन बन्ने गौरव प्राप्त गरेको हो।
पन्ध्र ओभरमा खेलाइएको फाइनल भिडन्तमा पहिलो ब्याटिङ गरेको वात्सल्यले निर्धारित ओभर खेल्दै एक सय पच्चीस रनको मजबुत योगफल तयार पारेको थियो। एक सय छब्बीस रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चैतन्य पाठशालाको टोली वात्सल्यका बलरसामु टिक्न नसक्दा पचपन्न रनमै समेटिन पुग्यो। वात्सल्यको सानदार जितमा अलराउण्डर प्रदर्शन गरेका हिमाल पन्त र अनुप जोशीको उत्कृष्ट बलिङ निर्णायक साबित भएको थियो।
प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा हिमाल पन्तले तीन ओभर बलिङ गर्दै मात्र चार रन खर्चेर चार विकेट लिए भने ब्याटिङतर्फ सत्ताइस रनको महत्वपूर्ण योगदान दिए। यसैगरी अनुप जोशीले तीन ओभरमा छ रन दिएर चार विकेट लिनुका साथै एघार रन जोडे। आक्रामक ब्याटिङ गरेका नीरज सिंह कार्कीले मात्र नौ बलमा पाँच चौकाको मद्दतले तेइस रन बनाउनुका साथै एक विकेट लिएर टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। टोलीका लागि अञ्जित धामीले एक विकेट लिँदै अविजित आठ रन, प्रेम ओडले पन्ध्र रन र धीरेन्द्रराज बिष्टले तेह्र रनको योगदान दिए।
समग्र प्रतियोगिताभरि नै वात्सल्यका खेलाडीको वर्चस्व रहेको पाइयो। बलर हिमाल पन्तले पाँच खेलमा तेह्र र अनुप जोशीले चार खेलमा बाह्र विकेट लिए भने ब्याट्सम्यान नीरज सिंह कार्की र प्रेम ओडले प्रतियोगिताभर समग्रमा दुई सयभन्दा बढी रन जोड्दै टोलीको सफलता सुनिश्चित गरेका थिए।
कैलाली ,कञ्चनपुर र डोटीका चौध विद्यालयको सहभागिता रहेको यस प्रतियोगितामा प्रथम हुने वात्सल्य विद्या निकेतनले नगद पचास हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी उपविजेता बनेको चैतन्य पाठशालाले नगद तीस हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। आयोजक तथा खेलप्रेमीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको वात्सल्य तथा उपविजेता चैतन्य पाठशालासहित सबै सहभागी टोलीलाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन्।
उपाधि जित्न सफल टोलीको सफलताप्रति खुसी व्यक्त गर्दै वात्सल्य विद्या निकेतनका प्रिन्सिपल लक्ष्मण सिंह दियालले विद्यार्थीको निरन्तर अभ्यास, अनुशासन र टोलीभावना नै जितको मुख्य आधार रहेको बताएका छन्।





