कञ्चनपुरको बेलडाँडीबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

बेलौरी, कञ्चनपुर ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ झिलमिला सीमा क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीय रामबहादुर कठायत र सोही ठाउँका ३२ वर्षीय हर्कबहादुर बुढा रहेका छन्। उनीहरुलाई वैशाख २० गते साँझ ७ बजेको समयमा झिलमिला शक्तिफारमस्थित सीमा इलाकामा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो।

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) बाट सशस्त्र प्रहरी नायव निरीक्षक बर्त घर्तीमगरको नेतृत्वमा खटिएको ५ जना र प्रहरी चौकी झिलमिलाबाट प्रहरी सहायक निरीक्षक ललित रोकायाको नेतृत्वमा खटिएको ३ जनाको संयुक्त गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शंका लागेर रामबहादुर कठायतले चलाएको भे १३ प ५३०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार हर्कबहादुर बुढाले हातमा लुकाइछिपाइ राखेको अवस्थामा ५ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको छ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बेलौरीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बस्नेतले संयुक्त टोलीले शंकास्पद अवस्थामा रहेका निजहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ