शुक्लाफाँटा निकुञ्जभित्र बाघको आक्रमणबाट मोटरसाइकल दुर्घटना, एकै परिवारका चार जना घाइते

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गुडिरहेको मोटरसाइकललाई बाघले अचानक आक्रमण गर्दा एकै परिवारका चार जना घाइते भएका छन्। जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित क्याम्प चेकपोष्ट नजिक दैजी-बेलडाँडी सडकखण्डमा सोमबार राति सवा आठ बजेतिर उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दैजीबाट बेलडाँडीतर्फ गइरहेको सु.प.प्र. ०१-००९ प ७६३० नम्बरको मोटरसाइकललाई बाघले अचानक झम्टेपछि सवारी अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ रतनपुर बस्ने चालक विरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, साढे दुई वर्षीय छोरा रियान्स ठगुन्ना र भीमदत्त नगरपालिका वडा नम्बर १५ खैरिबस्ती बस्ने १४ वर्षीया भान्जी आरुसी साहु घाइते भएका छन्।

घाइतेहरूमध्ये १४ वर्षीया आरुसी साहुको अवस्था गम्भीर र अचेत रहेको प्रहरीले जनाएको छ। उनको टाउको, अनुहार र हातमा गम्भीर चोट लागेको छ। मोटरसाइकल चालक विरेन्द्र ठगुन्नाको दाहिने खुट्टा, दुवै हात र शरीरका विभिन्न भागमा चोट लागे पनि अवस्था सामान्य छ। उनकी श्रीमती कल्पनाको टाउको, अनुहार र दुवै खुट्टामा तथा छोरा रियान्सको टाउको र अनुहारमा चोट लागेको छ भने उनीहरूको अवस्था मध्यम रहेको छ।

दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप र जटिल उपचारका लागि उनीहरूलाई कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा प्रेषित गरिएको र हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस सडकखण्डमा विगतमा पनि वन्यजन्तुको चहलपहल र आक्रमणका घटना हुने गरेकाले रात्रिकालीन समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन निकुञ्ज प्रशासन र सुरक्षा निकायले आग्रह गरेका छन्। यस घटनाले स्थानीय बासिन्दा तथा यात्रुहरूमा सुरक्षाको चिन्ता थप बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ