बेलौरी (कञ्चनपुर)
कञ्चनपुरको पुनर्वास नगरपालिकाले नगरवासीलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थानीय स्तरबाटै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको छ। पालिकाले चालु आर्थिक वर्षको प्रारम्भिक चरणदेखि नै भूमि प्रशासन तथा जग्गा दर्तासम्बन्धी सेवाहरू आफ्नै भूमि व्यवस्थापन शाखामार्फत औपचारिक रूपमा सुरु गरेको हो।
नयाँ व्यवस्था अनुसार अब नगरभित्रका नाप नक्सा, जग्गा लिखत पास तथा राजस्व सङ्कलनलगायतका आधारभूत कार्यहरू पालिकाबाटै सम्पादन हुनेछन्। यसअघि यी सम्पूर्ण सेवाका लागि सर्वसाधारणले छिमेकी पालिका बेलौरीस्थित भूमि प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता रहेको थियो।
प्रथम चरणमा कित्ताकाट गर्न नपर्ने सिङ्गो कित्ताको कारोबार, बायोमेट्रिक प्रणाली, औँठाछाप तथा फोटो प्रविधिसहितका कार्यहरू नगरपालिकाबाटै सञ्चालन गरिएको भूमि व्यवस्थापन शाखा प्रमुख नवराज सापकोटाले जानकारी दिनुभयो। यद्यपि मुद्दा मामिला तथा जग्गा रोक्का-फुक्का जस्ता कानुनी प्रक्रियाहरू भने तत्कालका लागि बेलौरीस्थित कार्यालयबाटै सम्पादन हुनेछन्।
हाल नापी अधिकृतको पदपूर्ति भइनसकेकाले नापीसम्बन्धी प्राविधिक सेवा पनि छिटै पालिकाबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ।





