कञ्चनपुर, असोज ८ गते ।
नेपाली कांग्रेसका सक्रिय युवा नेता एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मनोज भट्टले कञ्चनपुर क्षेत्र नं. १ बाट युवा खुलातर्फको महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि विद्यार्थी राजनीति र पार्टीको संगठन सुदृढीकरणमा क्रियाशील रहँदै आउनुभएका भट्टले आगामी महाधिवेशनका लागि आफ्नो उम्मेदवारीसँगै सम्पूर्ण मतदाता, शुभेच्छुक तथा पार्टी पंक्तिबाट पूर्ण सहयोग, समर्थन र सद्भावको अपेक्षा गर्नुभएको छ।

विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसको राजनीतिक धारमा निरन्तर संघर्षरत रहनुभएका भट्ट नेवि संघको क्षेत्रीय कार्यसमिति सदस्य हुँदै हाल केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिरहनुभएको छ। पार्टीभित्र युवाको सशक्तीकरण, नीतिगत स्पष्टता र गतिशील नेतृत्व अपरिहार्य रहेको बताउँदै उहाँले पार्टी संगठनलाई अझ बढी जनमुखी, प्रभावकारी र समयसापेक्ष बनाउन आफ्नो उम्मेदवारी केन्द्रित रहने स्पष्ट पार्नुभएको छ। स्थानीय स्तरका युवाहरूमाझ लोकप्रिय हुनुका साथै सांगठनिक काममा निष्ठावान् छवि बनाउनुभएका भट्टको उम्मेदवारीलाई कञ्चनपुर कांग्रेसको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
उम्मेदवारी घोषणासँगै उहाँले क्षेत्र नं. १ का विभिन्न तहका नेता, कार्यकर्ता सँग भेटघाट र आन्तरिक छलफललाई तीब्र पार्नुभएको छ। लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै पार्टीभित्र युवा पुस्ताको सक्रिय सहभागिताले मात्रै संगठनलाई बलियो बनाउने विश्वास उहाँको छ।





