बेलौरी, कञ्चनपुर।
कञ्चनपुरको बेलौरी नगरपालिका ६ का अन्दाजी ३९ वर्षीय महेश केसीको शव स्थानीय भङ्गी नालामा डुबेको अवस्थामा फेला परेको छ। अघिल्लो रातदेखि सम्पर्कविहीन रहेका केसीको शव सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त टोलीले खोजी गर्ने क्रममा फेला पारेको हो।
गत असोज १० गते रातिदेखि सम्पर्कविहीन बनेका केसी घरनजिकै रहेको नालामा डुबेको हुन सक्ने आशंका आफन्तले गरेका थिए। आफन्तबाट प्राप्त सूचनाका आधारमा आइतबार मध्याह्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली उद्धार तथा खोजी कार्यका लागि घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर बेलौरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सीता कुमारी चौधरी र इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी नायब निरीक्षक टेक बहादुर विष्टको नेतृत्वमा खटिएका एघार/एघार जना सुरक्षाकर्मी तथा १५ देखि २० जना स्थानीयवासी खोजीमा जुटेका थिए।
खोजी कार्य सुरु गरेको करिब १५ मिनेटमै टोलीले नालामा रहेको कल्भर्टभन्दा करिब ५० मिटर दक्षिणतर्फ केसीलाई मृत फेला पारेको हो। शव फेला परेपछि सुरक्षाकर्मीले आवश्यक प्रक्रिया पूरा गरी परीक्षणका लागि श्रीपुर स्वास्थ्य चौकी पठाउने तयारीमा रहेका छन्। घटनाबारे इलाका प्रहरी कार्यालय बेलौरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।





